काठमाडौं । देशका केही नदी तथा खोलामा आज बाढीको जोखिम रहेको छ । मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले बाढीको जोखिम रहेको हो । २२ वटा जिल्लाका नदी र खोलामा बाढीको जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले बताएको छ ।
पाँचथर, इलाम, धनकुटा, तेह्रथुम, भोजपुर, खोटाङ, उदयपुर, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, धादिङ भएर बग्ने नदी तथा खोलामा बहाव उल्लेख्य बढ्नेछ ।
लम्जुङ, कास्की, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, पाल्पा, पर्वत, प्युठान, दाङ र आसपासका जिल्ला भएर बग्ने ससाना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको विभागले बताएको छ ।
आज दिउँसो कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभाग र मधेस प्रदेश तथा वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
राति कोसी प्रदेशको पहाडी भूभाग तथा कोसी र लुम्बिनी प्रदेशको तराई भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।






























