नायिका परीक्षा लिम्बु र कोरियोग्राफर तमूसहित जम्बो टाेली ‘ग्लोबल डान्स लिग थाइल्यान्ड २०२६’मा

नायिका परीक्षा लिम्बु र कोरियोग्राफर तमूसहित जम्बो टाेली ‘ग्लोबल डान्स लिग थाइल्यान्ड २०२६’मा

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय नृत्य प्रतियोगिता ‘ग्लोबल डान्स लिग थाइल्यान्ड २०२६’ मा सहभागिता जनाउन नेपालबाट जम्बो प्रतिनिधिमण्डल थाइल्यान्ड पुगेको छ। विश्वभरका उत्कृष्ट नर्तक, प्रशिक्षक तथा कोरियोग्राफरहरूको सहभागिता रहने प्रतियोगितामा यसपटक नेपालबाट तीन टोलीले प्रतिस्पर्धा गर्दैछन्।

ग्लोबल डान्स लिग नेपालका राष्ट्रिय निर्देशक रोशन गहतराजका अनुसार हालै नेपालमा सम्पन्न ‘वर्ल्ड अफ डान्स नेपाल २०२६’बाट छनोट भएका टोलीहरूले थाइल्यान्डमा नेपालको प्रतिनिधित्व गरिरहेका छन्। प्रतियोगिताको टिम डिभिजन विजेता ‘टिम एनटी’, रनर अप ‘ दि इननेट सउल’ तथा जुनियर टिम डिभिजन ‘एनडिए जुनियर’ले अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्ने भएका हुन्। लिगको उद्घाटन बुधवार साँझ हुँदैछ।

यस प्रतियोगितामा नायिका परीक्षा लिम्बुको विशेष उपस्थिति रहेको छ भने नेपालका चर्चित नृत्य निर्देशक तथा कोरियोग्राफर जेडी तमू निर्णायकको भूमिकामा रहेका छन्। विश्वका विभिन्न देशका प्रतिष्ठित निर्णायकहरूसँगै उनले मूल्यांकन गर्ने अवसर पाएका हुन्। रोशन गहतराजका अनुसार यति ठूलो अन्तर्राष्ट्रिय नृत्य प्रतियोगितामा नेपालबाट पहिलोपटक यस स्तरमा निर्णायक चयन हुनु नेपाली नृत्य क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि हो। यस वर्षको प्रतियोगितामा निर्णायकको रूपमा विश्वप्रसिद्ध नृत्यांगना तथा कोरियोग्राफर काया पियर्स पनि सहभागी रहनेछिन्। न्यूजिल्यान्डकी पियर्स अमेरिकी पप स्टार जस्टिन बिबरको चर्चित गीत ‘सरी’को म्युजिक भिडियोमा कोरियोग्राफीका लागि विशेष रूपमा परिचित छिन्।

प्रतियोगितामा विश्वभरबाट सयौँ नर्तक तथा नृत्य टोलीहरूको सहभागिता रहनेछ। विभिन्न विधाका नृत्य प्रस्तुतिहरू, प्रतिस्पर्धात्मक प्रदर्शन र सांस्कृतिक आदानप्रदानका माध्यमबाट यो कार्यक्रम अन्तर्राष्ट्रिय नृत्य समुदायको प्रमुख आकर्षण बन्ने अपेक्षा गरिएको छ।

नेपाली टोलीहरूको सहभागिताले अन्तर्राष्ट्रिय नृत्य मञ्चमा नेपालको उपस्थिति थप सशक्त बनाउने विश्वास गरिएको छ। पछिल्ला वर्षहरूमा नेपाली नर्तक तथा नृत्य समूहहरूले विश्वस्तरका प्रतियोगिताहरूमा उल्लेखनीय प्रदर्शन गर्दै आएका छन्, जसले नेपाली नृत्य प्रतिभालाई विश्वसामु चिनाउन महत्वपूर्ण भूमिका खेलेको छ।

Logo