काठमाडाैं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सन् २०२८ मा आयोजना हुने पुरुष टी२० विश्वकपको ढाँचा (फर्म्याट) र छनोट प्रक्रियामा महत्वपूर्ण परिवर्तन गर्ने निर्णय गरेको छ। हालै सम्पन्न सन् २०२६ को विश्वकपमा एसोसिएट र उदीयमान राष्ट्रहरूले देखाएको उत्कृष्ट प्रदर्शनलाई मध्यनजर गर्दै आईसीसीले प्रतियोगितालाई अझ बढी प्रतिस्पर्धात्मक र अवसरमुखी बनाउन यो परिमार्जन गरेको हो।
२०२८ को विश्वकपमा पनि साविकझैं २० वटा टोलीले नै सहभागिता जनाउने भए तापनि खेलको संरचनामा भने व्यापक फेरबदल गरिएको छ।
नयाँ खेल ढाँचा:
नयाँ नियमानुसार अब सहभागी २० टोलीलाई ५-५ वटा टोलीको चार समूहमा विभाजन गर्नुको साटो, ४-४ वटा टोली समेटिएको ५ वटा समूहमा विभाजन गरिनेछ। समूह चरणका कुल ३० खेलपछि प्रत्येक समूहका शीर्ष दुई टोलीहरू ‘सुपर १०’ चरणमा प्रवेश गर्नेछन्।
‘सुपर १०’ मा टोलीहरूलाई ५-५ को दुई समूहमा विभाजन गरी राउन्ड-रोबिन आधारमा खेल खेलाइनेछ। यस चरणमा आ-आफ्नो समूहको शीर्ष स्थानमा रहने दुई टोली सिधै सेमिफाइनलमा पुग्नेछन्। बाँकी दुई सेमिफाइनलिस्टको टुंगो भने नयाँ ‘एलिमिनेटर’ चरणबाट लाग्नेछ, जहाँ दुवै समूहका दोस्रो र तेस्रो स्थानमा रहेका टोलीहरूले आपसमा प्रतिस्पर्धा गर्नेछन्। सेमिफाइनल र फाइनल खेलहरू भने पुरानै नियमअनुसार सञ्चालन हुनेछन्।
नेपाल र अन्य टोलीको छनोट यात्रा:
सन् २०२६ को विश्वकप प्रदर्शन र वर्तमान वरीयताका आधारमा १२ वटा टोलीले २०२८ को विश्वकपका लागि सिधै स्थान सुरक्षित गरिसकेका छन्। जसमा नेपालका छिमेकी राष्ट्रहरू भारत, पाकिस्तान, बंगलादेश र अफगानिस्तानसहित अष्ट्रेलिया, इङ्गल्याण्ड, आयरल्याण्ड, न्यूजील्याण्ड, दक्षिण अफ्रिका, श्रीलंका, वेस्ट इन्डिज र जिम्बाब्वे रहेका छन्।
तर, सन् २०२६ को विश्वकप खेलेर पनि सिधै छनोट हुन नसकेका नेपालसहितका ८ राष्ट्रहरूले भने २०२८ को विश्वकप यात्राका लागि सिधै ‘ग्लोबल क्वालिफायर’ (विश्वव्यापी छनोट) खेल्न पाउने भएका छन्। यसरी सिधै ग्लोबल क्वालिफायर खेल्ने टोलीहरूमा नेपाल, क्यानडा, इटाली, नामिबिया, नेदरल्याण्ड्स, ओमान, संयुक्त अरब इमिरेट्स (यूएई) र संयुक्त राज्य अमेरिका (यूएसए) रहेका छन्। यसले गर्दा नेपालले क्षेत्रीय छनोटका प्रारम्भिक चरणहरू खेल्नुपर्ने छैन।
बाँकी रहेका टोलीहरूले भने क्षेत्रीय छनोट पार गर्दै ग्लोबल क्वालिफायरमा स्थान बनाउनु पर्नेछ। क्षेत्रीय छनोटबाट अफ्रिका, एसिया र युरोपबाट २-२ टोली तथा अमेरिका र पूर्वी एसिया-प्रशान्त क्षेत्रबाट १-१ टोली गरी थप ८ टोली ग्लोबल क्वालिफायरमा आउनेछन्। अन्त्यमा, ग्लोबल क्वालिफायरका उत्कृष्ट टोलीहरूले २०२८ को मुख्य विश्वकपको टिकट काट्नेछन्।
आईसीसी विकास समिति र मुख्य कार्यकारी अधिकारीहरूको समितिको सिफारिसमा आईसीसी बोर्डले यो नयाँ मार्सल ढाँचालाई अनुमोदन गरिसकेको छ भने आगामी नोभेम्बरमा बस्ने वित्तीय तथा व्यावसायिक मामिला समितिको बैठकपछि यसलाई अन्तिम रूप दिइनेछ।






























