अर्जेन्टिना लगातार दोस्रोपटक विश्वकप फाइनलमा

अर्जेन्टिना लगातार दोस्रोपटक विश्वकप फाइनलमा

केन्द्रबिन्दु
21
Shares

एट्लान्टा । कप्तान लियोनेल मेसी प्रेरित अर्जेन्टिना उत्कृष्ट पुनरागमन गर्दै विश्वकप फुटबलको फाइनलमा पुगेको छ । अर्जेन्टिनाले एट्लान्टामा बिहीबार बिहान भएको दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डलाई २–१ गोलले पराजित गरेको हो ।

अर्जेन्टिना लगातार दोस्रोपटक विश्वकप फुटबलको फाइनलमा पुगेको छ । चार वर्षअघि कतारमा विश्वकप उपाधि जितेको अर्जेन्टिनाले अब आइतबार हुने फाइनलमा स्पेनको सामना गर्नेछ । स्पेनले अघिल्लो दिन भएको पहिलो सेमिफाइनलमा फ्रान्सलाई २–० गोलले पराजित गरेको थियो ।

इंग्ल्यान्ड २०१८ मा पनि सेमिफाइनलमै रोकिएको थियो । इंग्ल्यान्डले १९६६ यता विश्वकप जित्न सकेको छैन । इंग्ल्यान्डले फ्रान्ससँग शनिबार तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।

अर्जेन्टिना र इंग्ल्यान्ड दुवै टोली शारीरिक रूपमा प्रस्तुत भएर घम्साघम्सी खेलेका थिए । दुवै टोलीले बलमा भन्दा पनि एकअर्का खेलाडीलाई फाउल प्रहार गर्दै पहिलो हाफ बिताएका थिए ।

इंग्ल्यान्डले एन्थोनी गोर्डनको गोलमा ५५ औं मिनेटमा अग्रता लिएको थियो । उनले मोर्गन रोजर्सको पासमा गोल गरे । त्यही एक गोलको अग्रतालाई जोगाउन खोज्नु इंग्ल्यान्डको कमजोर रणनीति बन्यो ।

एक गोलले पछाडि परेको अर्जेन्टिनाले त्यसपछि भने एयर बल खेल्दै इंग्ल्यान्डमाथि धावा बोलेको थियो । इन्जो फर्नान्डेजले खेल समाप्त हुनु पाँच मिनेटअगाडि अर्जेन्टिनालाई बराबरीमा ल्याए । उनले कप्तान लियोनेल मेसीको पासमा पेनाल्टी बक्सबाहिरबाट गोल गरेका हुन् ।

लटारो मार्टिनेजले इन्जुरी टाइमको दोस्रो मिनेटमा गरेको गोलमा अर्जेन्टिनाले विजय हात पार्यो । ८१ औं मिनेटमा मैदानमा आएका उनले लियोनेल मेसीको क्रसमा हेडमा गोल गरेका हुन् ।

Logo