केपी ओलीले पठाए प्रचण्डलाई पुत्र वियोगमा पत्र (भिडियो सहित)

केपी ओलीले पठाए प्रचण्डलाई पुत्र वियोगमा पत्र (भिडियो सहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, ५ मंसिर । एमाले अध्यक्ष केपी ओली सोमबार प्रचण्ड निवास लाजिम्पाट पुगे । ओलीले वियोगमा धैर्य गर्न भन्दै प्रचण्ड परिवारलाई संझाए । उनले विशेषत: प्रचण्डपत्नीलाई सम्झाए । यतिमात्र होइन उनले प्रचण्डलाई संबोधन गरेर छुट्टै पत्र समेत लेखे । हामी त्यही पत्र यहाँहरुलाई वाचन गरेर सुनाउँदैछौं ।

भिडियो हेर्नुहोला


प्रचण्डलाई ओलीको पत्र
प्रिय कमरेड,
हामी दुवै आसन्न प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा प्रतिस्पर्धामा रहेका वामपक्षीय–लोकतान्त्रिक गठबन्धनका हाम्रा उम्मेदवारको प्रचार कार्यक्रममा प्रदेश नं. १ मा रहेकै वेला तपाईंको सुपत्र तथा तपाईंको पार्टीका केन्द्रीय सदस्य कमरेड साकार दाहाल ‘प्रकाश’को आकस्मिक एवं असामयिक निधनको खबरले म स्वयं भावविह्वल भएको छुु ।

एकातिर वामपक्षीय–लोकतान्त्रिक गठबन्धनको एकजना मुख्य नेताको हैसियतमा तपाईंमा निहित निर्वाचन परिचालनको चुनौतीपूर्ण नेतृत्वको जिम्मेवारी र अर्कोतिर पुत्रशोकको अकल्पनीय घटनाले तपाईंमाथि पर्न गएको पीडा म अनुभूति गरिरहेको छु ।

कमरेड प्रकाश, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पुत्र मात्रै नभई अध्यक्ष प्रचण्डको सचिवालयका मुख्य व्यक्तिसमेत भएकाले माओवादी केन्द्रका अध्यक्षको सचिवालय सञ्चालनमा रहेको भूमिका र उहाँको देहावसानले पारेको खाडल अपूरणीय रहेको मैले महसुस गरेको छु ।
द्वन्द्वकालमा समेत तत्कालीन नेकपा (माओवादी) पार्टीको हेडक्वार्टर र त्यसका सुप्रिम कमान्डर अध्यक्ष प्रचण्डको सुरक्षा, सहयोग र सचिवालय सञ्चालनमा रहेको उहाँको भूमिका अविस्मरणीय छ नै । यो चुनौतीपूर्ण घडीमा उहाँको निधनबाट सिर्जना भएको रिक्तता र पुत्र वियोगको पीडा दुवै विशेषगरी तपाईंले सामना गर्नुपर्ने कष्टपूर्ण कार्यको रूपमा मैले लिएको छु ।

यस शोकपूर्ण घडीमा म, नेकपा (एमाले) र आफू स्वयंको तर्फबाट तपाईं र तपाईंको सिंगो शोकाकुल परिवारमा हार्दिक समवेदना व्यक्त गर्दछु । कमरेड प्रकाशको निधनबाट नेकपा (माओवादी केन्द्र)मा पुगेको क्षतिप्रति दु:ख व्यक्त गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु ।

केपी शर्मा ओली
अध्यक्ष, नेकपा एमाले

प्रचण्ड, यस प्रकारका सारा सान्त्वना ग्रहण गर्दै छन् । पीडा पचाउँदै छन् । र, पुत्रवियोगलाई शाश्वत सत्य मान्दै चुनावी अभियानमा सहभागी हुँदै छन् ।

हार्दिक श्रद्धाञ्जली साकार दाहाल ‘प्रकाश’लाई । शोक संतप्त परिवारप्रति धैर्यधारण गर्ने साहास प्राप्त भइरहोस् । केन्द्रबिन्दु परिवार ।

शब्द – नयाँ पत्रिकावाट

Skip This
Skip This
Logo