काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३/८४ काे पहिलाे दिन आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उल्लेख्य सुधार देखिएको छ। आज नेप्से परिसूचक ७९.७४ अंक अर्थात् ३.०६ प्रतिशतले बढेर २,६७७.५४ को बिन्दुमा पुगेर बन्द भएको छ।
बजारमा हरियाली छाएसँगै कारोबार रकममा पनि राम्रो सुधार आएको छ। आज दिनभरिमा कुल ३३५ कम्पनीका १ करोड ३ लाख ८९ हजार ७७ कित्ता सेयर ५८ हजार ९४ पटक खरिदबिक्री हुँदा कुल ४ अर्ब ५७ करोड ५० लाख ९४ हजार ७ सय २३ रुपैयाँ ५१ पैसा बराबरको कारोबार भएको छ।
आजको कारोबारमा अधिकांश कम्पनीका लगानीकर्ताले कमाएका छन्। कुल २५९ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने मात्र १३ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। बाँकी २ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।
कम्पनीगत रूपमा हेर्दा आज एसएआईएल को सेयर मूल्यमा १५ प्रतिशतको उछाल आउँदै प्रतिसेयर मूल्य ९६३.७० रुपैयाँ पुगेको छ। त्यस्तै एसकेएचइएलको सेयर मूल्य १४.८३ प्रतिशत र एसआईपिडीको मूल्य १२.५४ प्रतिशतले बढेर सर्वाधिक कमाउने कम्पनीहरूको अग्रस्थानमा रहेका छन्।
यसैगरी कारोबार रकमका आधारमा आज एकेजेसीएल अग्रस्थानमा रहन सफल भयो, जसको कुल २२ करोड २३ लाख ९७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। दोस्रो स्थानमा रहेको सीओआरबीएलको १७ करोड ७३ लाख ६९ हजार रुपैयाँ र तेस्रो स्थानमा रहेको आरएसएमएलको १५ करोड ६० लाख रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भएको छ।































