बेईजिङ । दक्षिण–पश्चिम चीनमा गएको पहिरोमा परी कम्तीमा आठ जनाको मृत्यु भएको र अन्य ३४ जना वेपत्ता भएका छन् । चोङकिङ नगरपालिकामा रहेको वुजियाङ नदीको किनारमा शुक्रबार भारी वर्षापछि पहिरो गएको पहिरोमा परी आठ जनाको मृत्यु भएको र ३४ जना अझै बेपत्ता भएको स्थानीय अधिकारीहरूले बताएका हुन् ।
शुक्रबार राति आयोजित पत्रकार सम्मेलनमा पहिरोपछि १० जनालाई सकुशल उद्धार गरिएको वेपत्ता अन्य व्यक्तिको खोज तथा उद्धार कार्य जारी रहेको छ ।
उद्धार कार्य जारी रहँदा राष्ट्रपति सी जिनपिङले पहिरोमा भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै पीडित आफन्तहरूलाई विपत्को समयमा धैर्य बन्न आह्वान गरे । उनले अधिकारीहरूलाई खोजी तथा उद्धारमा कुनै कसुर बाँकी नराख्न निर्देशन दिए ।
पहिरो स्थानीय समयअनुसार शुक्रबार बिहान करिब ९:१० बजे पेङशुइ काउन्टीको चोङकिङमा गएको थियो । अधिकारीहरूका अनुसार ८०० भन्दा बढी स्थानीय तथा तालिमप्राप्त उद्धारकर्मीहरूलाई घटनास्थलमा खटाइएको छ ।































