काठमाडौं । करिब पाँच अर्ब वर्षपछि सूर्य आफ्नो जीवनको अन्तिम चरणमा प्रवेश गर्नेछ । त्यतिखेर यसको आकार अत्यधिक बढ्नेछ र बुध, शुक्र तथा सम्भवतः पृथ्वीसम्मलाई निल्न सक्छ ।
त्यसपछि सूर्यले आफ्नो बाहिरी तह अन्तरिक्षमा फैलाउनेछ र अन्ततः सेतो वामन तारा (ह्वाइट ड्वार्फ)मा रूपान्तरण हुनेछ । यद्यपि, सूर्यबाट टाढा ग्रहहरू यस्तो विनाशकारी परिवर्तनपछि पनि अस्तित्वमा रहन सक्ने सम्भावना वैज्ञानिकले औँल्याएका छन् ।
वैज्ञानिकले सूर्यजस्तै एउटा ताराको अन्त्यपछि पनि अर्बौं वर्षदेखि जीवित रहेको वृहस्पतिजस्तै सौर्यमण्डलबाहिरको एउटा ग्रह एक्सोप्लानेटको विस्तृत अध्ययन गरेका छन् ।
डब्ल्यूडी १८५६ बी नाम दिइएको यो ग्यासबाट बनेको ग्रह पृथ्वीबाट करिब ८१ प्रकाश वर्ष टाढा ड्राको नक्षत्रमा अवस्थित छ । एक प्रकाश वर्ष भनेको प्रकाशले एक वर्षमा तय गर्ने दूरी हो । त्यो करिब ९.५ खर्ब किलोमिटर बराबर हुन्छ ।
अनुसन्धानकर्ताका अनुसार, यसको भार हाम्रो सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह वृहस्पतिभन्दा करिब आठ गुणा बढी छ । यसको वायुमण्डलीय तापक्रम करिब १२७ डिग्री सेल्सियस रहेको पाइएको छ । वैज्ञानिकको अपेक्षाभन्दा यो निकै बढी हो ।
समयसँगै यो ग्रह बिस्तारै आफ्नो तारातर्फ सर्दै गएको हो । हाल यो आफ्नो सेतो वामन ताराको अत्यन्तनजिक परिक्रमा गरिरहेको छ । सूर्य–पृथ्वी दूरीको तुलनामा यो आफ्नो ताराभन्दा करिब ५० गुणा बढीनजिक छ । एउटा परिक्रमा पूरा गर्न केवल १.४ दिन लाग्छ ।
वैज्ञानिकका अनुसार, डब्ल्यूडी १८५६ बीले ताराको मृत्युपछि पनि केही ग्रहहरू दीर्घकालसम्म अस्तित्वमा रहन सक्छन् भन्ने बलियो प्रमाण प्रस्तुत गरेको छ । यसले भविष्यमा सूर्यको अन्त्यपछि पनि वृहस्पति, शनि, युरेनस र नेप्च्युनजस्ता बाहिरी ग्रहहरू बच्न सक्ने सम्भावनालाई थप बल दिएको छ ।
तर, डब्ल्यूडी १८५६ बीले सामना गरिरहेको अवस्था भविष्यमा सूर्यको मृत्युपछि बाँकी रहने ग्रहहरूको स्थितिभन्दा फरक छ । यो ग्रह तीन तारा प्रणालीको सदस्य हो । त्यहाँ एउटा सेतोसँगै दुई रातो वामन तारा पनि छन् । ती प्रत्येक रातो वामन ताराको द्रव्यमान सूर्यको करिब ३० प्रतिशतबराबर छ । यही जटिल गुरुत्वाकर्षणीय वातावरणका कारण यसको कक्षा असामान्य बनेको वैज्ञानिकको भनाइ छ ।
इलिनोयस्थित नर्थवेस्टर्न विश्वविद्यालयका खगोलविद् तथा अध्ययनका सहलेखक क्रिस्टोफर ओ’कोनरका अनुसार, यो ग्रह यतिनजिकको कक्षामा कसरी आइपुग्यो भन्ने विषयमा दुई प्रमुख सम्भावना छन् ।पहिलो सम्भावनाअनुसार, ग्रह आफ्नो मातृतारा ‘रेड जायन्ट’ बन्ने क्रममा त्यसको फैलिएको बाहिरी भागभित्र पुगे पनि ताराको केन्द्रसँग ठोक्किनबाट जोगिएकाले जीवित रह्यो ।
दोस्रो सम्भावनाअनुसार, ग्रह सुरुमा ताराबाट निकै टाढा थियो । त्यसैले तारा फैलँदा पनि यो सुरक्षित रह्यो । पछि वरपर रहेका दुई रातो वामन ताराको गुरुत्वाकर्षणीय प्रभावका कारण बिस्तारै अहिलेको नजिकको कक्षामा आइपुग्यो ।
सन् २०२० मा पहिलोपटक पत्ता लागेको डब्ल्यूडी १८५६ बी सूर्यजस्ता ताराहरूको मृत्युपछि पनि ग्रहहरू बच्न सक्छन् भन्ने पहिलो प्रत्यक्ष प्रमाण मानिएको थियो । हालै नेचर जर्नलमा प्रकाशित नयाँ अध्ययनमा वैज्ञानिकले जेम्स वेब स्पेस टेलिस्कोप प्रयोग गरेर यसको संरचनाबारे थप जानकारी प्राप्त गरेका छन् ।
अध्ययनानुसार, यो ग्रह मुख्य रूपमा हाइड्रोजन र हिलियमबाट बनेको भए पनि यसमा मिथेन ग्यासको मात्रा असामान्य रूपमा धेरै छ । साथै, समयसँगै यसको कक्षा सेतो वामन तारातर्फ सर्दै जाँदा उत्पन्न भएको गुरुत्वाकर्षणीय प्रभावका कारण यसको तापक्रम अपेक्षाभन्दा बढी भएको वैज्ञानिकले बताएका छन् ।
सामान्यतया ताराहरू आफ्ना ग्रहभन्दा धेरै ठूला हुन्छन् । उदाहरणका निम्ति सूर्यको आयतन वृहस्पतिको भन्दा करिब एक हजार गुणा ठूलो छ । तर, डब्ल्यूडी १८५६ बी आफूले परिक्रमा गरिरहेको सेतो वामन ताराभन्दा करिब ५०० गुणा ठूलो छ । आकारमा सानो देखिए पनि सेतो वामन तारा अत्यन्त सघन भएकाले यसको द्रव्यमान निकै ठूलो हुन्छ ।
अनुसन्धानकर्ताका अनुसार, यो सेतो वामन सूर्यभन्दा करिब दोब्बर भार भएको एउटा ताराको अवशेष हो । यसको मृत्यु करिब पाँच अर्ब वर्षअघि भएको थियो ।
वैज्ञानिकका अनुसार, करिब पाँच अर्ब वर्षपछि सूर्य आफ्नो रेड जायन्ट चरणमा प्रवेश गर्नेछ । त्यस बेला यसको आकार आजको भन्दा करिब २०० गुणासम्म ठूलो हुनेछ । र, यसले निश्चित रूपमा बुध र शुक्रलाई निल्नेछ ।
ओ’कोनरका अनुसार, पृथ्वीभन्दा बाहिर रहेका ग्रह सूर्यको अधिकतम विस्तार हुने सीमाभन्दा धेरै टाढा रहने भएकाले तिनीहरू सूर्यको अवशेषका रूपमा रहने सेतो वामन ताराको परिक्रमा गरिरहने सम्भावना धेरै छ ।
तर, सूर्य सेतो वामन तारामा रूपान्तरण हुने क्रममा आफ्नो करिब आधा भार गुमाउने भएकाले त्यसको गुरुत्वाकर्षण कमजोर हुनेछ । त्यसको परिणामस्वरूप बाँकी रहेका ग्रहहरू बिस्तारै बाहिरतर्फ सर्दै जानेछन् । उनीहरूको कक्षा हालको तुलनामा करिब दोब्बर टाढा पुग्ने अनुमान गरिएको छ ।
पृथ्वीको भविष्यबारे भने वैज्ञानिक अझै निश्चित हुन सकेका छैनन् । ओ’कोनरका अनुसार, सूर्यको अन्तिम चरणमा पुग्दा पृथ्वी सूर्यले निल्ने ‘खतराको क्षेत्र’भित्र पर्छ वा त्यसबाट बच्न सफल हुन्छ भन्ने ठ्याक्कै भन्न सकिने अवस्था छैन । पृथ्वीको भावी कक्षा कति परिवर्तन हुन्छ भन्ने पर्याप्त रूपमा अनुमान गर्न नसकिएकाले यसको अन्तिम भविष्य अझै खुला प्रश्नकै रूपमा रहेको उनले बताए ।
यद्यपि, उनले यसबारे चिन्ता लिनुपर्ने कुनै कारण नरहेको उल्लेख गरे । उनका अनुसार, यसको उत्तर खोज्न मानव जातिसँग अझै करिब पाँच अर्ब वर्षको समय बाँकी छ । रोयटर्सबाट ।































