विश्वकपमा भिड्दै अर्जेन्टिना–स्पेन, दुबै टिमसँग ईतिहास कोर्ने उच्च मनोकांक्ष

विश्वकपमा भिड्दै अर्जेन्टिना–स्पेन, दुबै टिमसँग ईतिहास कोर्ने उच्च मनोकांक्ष

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । फिफा विश्वकप २०२६ मा विश्वका नम्बर १ र २ वरीयताका टिम फाइनलमा भिड्ने तयारीमा छन् । कोपा अमेरिका च्याम्पियन र युरोपेली विजेता नै उपाधि भिडन्तमा ओर्लिदा नयाँ इतिहास कोर्ने उच्च मनोकांक्ष दुबै टिमसँग हुनेछ । विश्व फुटबलकै सर्वकालीन महान् खेलाडी लियोनल मेसी र यूवास्टार लामिन यामल सामु एउटा अर्को जादुयी प्रदर्शनको अवसर हुनेछ ।

अहिलेसम्मकै सबैभन्दा ठूलो विश्वकप ४८ टिमबाट खुम्चिएर दुई टिममा झरेको छ। सोमबार बिहान निर्णायक खेलका लागि न्युयोर्क–न्युजर्सी रंगशालामा एकअर्काविरुद्ध खेल्दै छन्, डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना र स्पेन। सेमिफाइनल आइपुग्दा लागिरहेको थियो– फ्रान्स नै यसपल्ट उपाधि जित्न सबैभन्दा बढी बलियो टिम छ, इंग्ल्यान्डले पनि ६ दशकयता पहिलो पटक फाइनल खेल्न बेर छैन।

ती सबै सम्भावना निस्तेज पार्दै अर्जेन्टिना र स्पेन नै फाइनल पुगेका हुन्। अब अर्जेन्टिनासामु ब्राजिलपछि लगातार दोस्रोपल्ट विश्वकप उपाधि जित्ने अवसर छ। ब्राजिलले सन् १९५८ र १९६२ मा यस्तो उपलब्धि हासिल गरेको थियो। तर यो त पुरानो कथा भइसकेको छ। मेसी र अर्जेन्टिनासामु नयाँ पुस्ताका लागि इतिहास रच्ने अवसर छ।

अर्जेन्टिनाको शक्ति भन्नु नै मेसीमा निर्भर छ। उनका लागि मरिमेटेर खेल्न तयार पूराका पूरा टिम छ। मेसीले यसैक्रममा ८ गोल गरिसकेका छन्। विशेषतः इजिप्ट र इंग्ल्यान्डविरुद्ध अर्जेन्टिनाले नकआउट चरणमा जसरी पुनरागमन रचेको छ। त्यसले भन्छ, यो टिम हार्न जान्दैन अनि यो टिमलाई आफूमाथि पूर्ण विश्वास छ। अब अर्जेन्टिना मेसीमै सीमित एक खेलाडीको टिम पनि रहेन।

अर्जेन्टिनासामु तेर्सिएको अन्तिम चुनौती स्पेन पनि आफैंमा कमको छैन । स्पेन धेरैभन्दा धेरै अर्थमा अर्जेन्टिनाभन्दा फरक छ, त्यसैले फाइनल विशेष हुनेछ । सन् २०१० मा विश्वकप जितेको स्पेनले त्यसको अगाडि र पछाडि युरोपेली उपाधि जितेको थियो। अहिले पनि यही टिम फेरि एकपल्ट युरोपेली च्याम्पियनका रूपमा फाइनल खेल्दैछ। भन्न कर लाग्छ, इतिहास दोहोरिन बेर छैन।

युरोपेली च्याम्पियनका रूपमा स्पेनले फेरि एकपल्ट विश्वकप जित्ने सम्भावना पूरापूर छ। स्पेनी टिमको मुख्य विशेषता भने यो एकै खेलाडीमा भर परेर खेल्ने टिमै होइन। न त यसलाई धेरै गोल गरेर के के न गरेको दाबी गर्नु छ। यसलाई मध्यपंक्तिमा सक्दो बल खेलाउनुमै मज्जा लाग्छ अनि फुत्त एक गोल निकालेर खेल जित्नुमै सन्तोष लाग्छ। खासमा यसको शक्ति भनेकै मध्यपंक्ति रहेको छ।

यही मध्यपंक्तिले त हो, सेमिफाइलनमा फ्रान्सलाई नराम्रोसँग चुपचाप रहन बाध्य पारेको। स्पेनको रक्षापंक्तिको झन् के पो कुरा गर्नु, यसले पूरा प्रतियोगितामै एक गोल मात्र खाएको छ। पछिल्लो पटक स्पेनले विश्वकप जित्दा यसको खेल्ने शैली ‘टिकीटाका’ खुबै चर्चामा रहेको थियो। अहिले पनि स्पेनले लगभग यसरी नै खेलिरहेको छ। यसको केन्द्रविन्दुमा छन्, पास खेल्नमा माहिर रोड्री। त्यसमाथि सबै खाले प्रतियोगितामा स्पेनले हार नखाएको पनि ३७ खेल पुगिसकेको छ। यो क्रम सुरु भएको थियो, २०२४ को मार्चदेखि।

विश्वकपमा भने स्पेन र अर्जेन्टिना ६० वर्षपछि पहिलो पटक आमने–सामने हुन लागेका हुन्। यसअघि सन् १९६६ को समूह चरणमा यी दुई टिम भिडेका थिए। जसमा अर्जेन्टिना २–१ ले विजयी भएको थियो।

यो सबै पृष्ठभूमिमा एउटा तथ्य निश्चित छ, फाइनल आफैमा स्वादिलो हुनेछ, यसमा शंका नगरेर हुन्छ। कसले फाइनल जित्ने छ भनेर मनमा धेरै कुरा खेलाउनु पनि पर्दैन, सम्भवतः मेसीको विश्वकपकै अन्तिम खेल तटस्थ समर्थकका लागि खुसी दिने अवसर रहनेछ।

Logo