नयाँ दिल्ली । पर्यावरणविद् तथा सामाजिक कार्यकर्ता सोनम वाङ्चुकलाई दिल्ली प्रहरीले जन्तर–मन्तरबाट उठाएर स्थानीय एक अस्पतालमा भर्ना गरेको छ ।
वाङ्चुक पछिल्लो २० दिनदेखि एनइइटी, सिबिएसई, सियुइटी/एसएससीजस्ता परीक्षाहरूमा कथित प्रश्नपत्र बाहिरिने समस्यालाई लिएर केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै भोक हड्तालमा बसेका थिए । उनको स्वास्थ्य बिग्रिँदै गएपछि अदालतको आदेश र चिकित्सकहरूको सल्लाहअनुसार प्रहरीले उहाँलाई अस्पताल पुर्याएको हो ।
सोनम वाङ्चुक अस्पताल भर्ना भएपछि जन्तर–मन्तरमा प्रदर्शन गरिरहेका अन्य प्रदर्शनकारीहरूलाई पनि त्यहाँबाट हटाइएको छ । वाङ्चुक २८ जुनदेखि अनशनमा थिए । उनले सङ्घीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरिरहेका छन् । लगातार घट्दो स्वास्थ्य अवस्थाबीच वाङ्चुकले शुक्रबार राति एउटा भिडियो सन्देश जारी गरेका थिए ।
भिडियोमा उनले आफ्नो तौल करिब २० प्रतिशत घटेको र मांसपेशीहरू पनि प्रभावित भएको बताए । उनले भने, “म अझै जिउँदै छु। मेरो शरीरको करिब २० प्रतिशत तौल घटेको छ । शरीरको बोसोपछि अब अन्य तन्तु र मांसपेशी पनि घट्दै छन् ।” यसपछि भित्री अङ्गहरू प्रभावित हुने र अन्तमा दिमागमा असर पर्ने तर अहिले त्यो अवस्था नआएको उनले बताए ।
आफ्नो सन्देशमा वाङ्चुकले देशवासीहरूलाई २० जुलाईमा प्रस्तावित ‘चलो संसद’ मार्चमा ठूलो संख्यामा सहभागी हुन अपिल गरेका छन् । उनले भने, “यदि प्याजको मूल्य जस्ता मुद्दामा सरकार जवाफदेही बन्न सक्छ भने, करोडौं विद्यार्थीको भविष्य र शिक्षा प्रणालीमा भएको कथित गडबडीमा पनि जवाफदेही हुनुपर्छ।” उनले एनइइटी विवादपछि केही विद्यार्थीले आत्महत्या गरेको दाबी गर्दै यसबारे सरकारबाट जवाफ मागेका छन् ।
वाङ्चुकको आन्दोलनलाई धेरै नागरिक संस्था र राजनीतिक व्यक्तित्वहरूले समर्थन गरेका छन्। शिवसेना–यूबीटी प्रमुख उद्धव ठाकरेले पनि एनइइटी परीक्षाको गडबडीविरुद्धको आन्दोलनको समर्थन गर्दै केन्द्र सरकारलाई असंवेदनशील भनेका छन् ।































