काठमाडौं । जोर्डनमा भएको इरानी आक्रमणमा परी दुईजना अमेरिकी सैनिकको मृत्यु भएको छ । अमेरिकी सेनाका अनुसार त्यसको जवाफमा नयाँ चरणको सैन्य कारबाही थालिएको छ ।
अमेरिकी सेनाले लगातार आठौँ रात इरानका विभिन्न सैन्य लक्ष्यहरूमा हवाई आक्रमण गरेको जनाएको छ । सेनाका अनुसार यो कारबाही जोर्डनमा दुई अमेरिकी सैनिक मारिने गरी भएको आक्रमणको प्रतिशोधस्वरूप गरिएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैनिकहरूको मृत्यु दुःखद भएको बताउँदै इरानलाई कुनै पनि हालतमा आणविक हतियार विकास गर्न नदिइने बताए ।
अमेरिकी सेनाले शनिबार युद्ध सुरु भएयता पहिलोपटक इरानी आक्रमणमा आफ्ना सैनिकको मृत्यु भएको औपचारिक रूपमा पुष्टि गरेको छ । शुक्रबार भएको ड्रोन र मिसाइल आक्रमणमा ती सैनिक मारिएका थिए भने एकजना अझै बेपत्ता छन् । थप चारजना सैनिक घाइते भई उपचाररत छन् । यस वर्ष फेब्रुअरी २८ देखि सुरु भएको युद्धयता हालसम्म १६ अमेरिकी सैनिकको मृत्यु भएको र ४३० भन्दा बढी घाइते भएको अमेरिकी सेनाले जनाएको छ ।
इरानका सर्वोच्च नेता मुज्तबा खामेनीईले ट्रम्पको अभिव्यक्तिलाई अस्वीकार गर्दै उनको हस्ताक्षरको कुनै अर्थ नरहेको टिप्पणी गरेका छन् । उनले अमेरिका नै हालै भएको सम्झौता उल्लंघन गर्ने पक्ष भएको आरोप पनि लगाए ।
कुवेतले इरानी हवाई आक्रमणका कारण आफ्नो सरकारी तेल कम्पनीअन्तर्गतको एक इकाइमा क्षति पुगेको जनाएको छ । यसअघि पनि विद्युत् तथा समुद्री पानीलाई पिउने योग्य बनाउने प्लान्टमा इरानी आक्रमण भएको आरोप लगाइएको थियो ।
इराकको अर्बिलस्थित अमेरिकी वाणिज्य दूतावासलाई ड्रोनमार्फत निशाना बनाउने प्रयास भएको बताइएको छ । त्यसलगत्तै त्यहाँको हवाई सुरक्षा प्रणाली तत्काल सक्रिय पारिएको थियो । अमेरिकी सेन्ट्रल कमान्डका अनुसार जोर्डनमा शुक्रबार मारिएका दुई अमेरिकी सैनिकको मृत्युको बदला लिन राष्ट्रपति ट्रम्पको स्वीकृतिमा नयाँ हवाई आक्रमण सुरु गरिएको छ ।
अमेरिकी सेनाले यी आक्रमणहरूको मुख्य उद्देश्य होर्मुज जलमार्गमा व्यावसायिक जहाजहरूको आवागमनमा इरानले सिर्जना गरेको खतरालाई कम गर्नु रहेको जनाएको छ ।
केही दिनअघि ट्रम्पले इरानका सबै पुल र विद्युत् गृहहरू ध्वस्त पार्ने चेतावनी दिएका थिए । यद्यपि अमेरिकी सेनाले हालसम्म हतियार भण्डारण स्थल र सैन्य अड्डाहरूलाई मात्र निशाना बनाइएको पुष्टि गरेको छ । पुल वा विद्युत् पूर्वाधारमाथि आक्रमण गरिएको विषयमा भने कुनै आधिकारिक पुष्टि गरिएको छैन ।
अमेरिका र इरानबीचको तनाव चर्किएको छ । अमेरिकाले विगत आठ दिनदेखि लगातार इरानमाथि हवाई आक्रमण गरिरहेको छ । शनिबार अमेरिकी सेनाले इरानको रिभोलुसनरी गार्ड्सविरुद्ध पनि नयाँ हवाई आक्रमण गरेको जनाएको छ । अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार यसको उद्देश्य होर्मुज जलमार्गहुँदै तेल ट्यांकरहरूको आवागमन अवरुद्ध गर्ने इरानको क्षमतालाई थप कमजोर बनाउनु हो ।































