सडकमा रोकिएका छैनन् धर्ना र आन्दोलन, पुरानालाई दोष दिँदै पन्छिन्दै सरकार

सडकमा रोकिएका छैनन् धर्ना र आन्दोलन, पुरानालाई दोष दिँदै पन्छिन्दै सरकार

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । आन्दोलन, प्रदर्शन र धर्नाको पर्याय बनेको माइतीघर मण्डलमा शनिबार दिउँसो साढे २ बजे सेतो कोट लगाएका केही युवा एकाएक आइपुगे। अनि, कागजको मास्क लगाउन थाले। जसमा लेखिएको थियो, ‘हामी अरूलाई निको पार्छौं, हामीलाई कसले निको पार्छ?’ मास्कभित्र अर्को मास्कले मुख छोपिएको दृश्य थियो, जसमा लेखिएको थियो, ‘पीडित डाक्टर।’ जसमा डाक्टरको आँखाबाट आँसु बगिरहेको देखाइएको थियो।

उनीहरू विभिन्न अस्पतालमा इन्टर्नसिप गरिरहेका चिकित्सक, मेडिकल अधिकृत र आवासीय चिकित्सक हुन्। प्रशिक्षार्थी डाक्टर र मेडिकल अधिकृतलाई श्रम ऐन, २०७४ ले तोकेको भन्दा बढी खटाएर श्रम शोषण गरिएकाले प्रदर्शनमा उत्रिनुपरेको डाक्टर कृष्ण सेढारीले बताए। ‘श्रम ऐनबमोजिम दैनिक अधिकतम दिनमा १२ घण्टा अर्थात् सातामा ७२ घण्टा काम र एक दिन अनिवार्य बिदाको व्यवस्था हुनुपर्ने हो,’ उनले भने, ‘तर, त्योभन्दा बढी काम गरिएको छ, डाक्टरले आराम गर्न पाउने अवस्था पनि छैन, त्यसैले प्रदर्शनमा आउनुपरेको हो।’

अर्का डाक्टर प्रज्ञान बस्नेतले ‘रातभरि नसुतेको डाक्टर बिरामी छ, स्वास्थ्य सेवा बिरामी छ, देश बिरामी छ’ लेखेको पोस्टर बोकेका थिए। ‘यो विषय उठाएको हाम्रा लागि मात्र होइन, गरिब जनताले सेवा पाउने नेपालको वीर अस्पताल, त्रिवि शिक्षण अस्पतालहरूमा रातभरि नसुतेको डाक्टर, २६ घण्टासम्म सुत्न नपाएको डाक्टर उपचार गर्न किन विवश छ भनेर राज्यलाई प्रश्न गर्न खोजेका हौं,’ उनले सुनाए, ‘२४ घण्टासम्म नसुतेको मान्छेले उपचार गर्नु भनेको रक्सी खाएको मान्छेले उपचार गरेसरह हो।’

उनले देशका प्रधानमन्त्री, शिक्षामन्त्री र स्वास्थ्यमन्त्री मात्र युवा भएर नहुने भन्दै राज्यका निकायले पनि युवाको कुरा सुन्नुपर्ने बताए। ‘युवा चिकित्सक, स्वास्थ्यकर्मीचाहिँ सधैं पिल्सिरहने अनि उनीहरूले नै दिएको सेवाबाट देशको स्वास्थ्य सुधार हुन्छ भन्ने कल्पना गर्नु व्यावहारिक हुँदैन,’ उनले भने, ‘दुई दिन बिदा लिने सरकार, प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीले एक दिन पनि बिदा लिन नपाउने बरु निरन्तर उपचारमा खटिन बाध्य चिकित्सकको मर्का बुझून् भनेर सडकमा आएका हौं।’

मिटरब्याजपीडितको कुरा सिंगो मधेशसँग जोडिएको थियो। त्यसैले गृहमन्त्री आफैं बारा गएर कुरा गर्नुभयो, तर जुन आन्दोलनको जगमा यो सरकार बनेको हो, त्यो आन्दोलनका पीडित जेन–जी साथीहरूको पक्षमा यो सरकारले निर्णय गरेको छैन।-चिकित्सकको प्रदर्शनभन्दा केहीबेर अघि मात्र सिंहदरबार गेटमा गृहमन्त्री सुधन गुरुङलाई भेटेर आफ्नो समस्या सुनाउन पाउनुपर्ने माग राखेका बिनु यादव र निहारिका राजपुतलाई प्रहरी लगाएर राज्यले लछारपछार गर्दै थियो।
उनीहरू सरकारलाई आफ्नो समस्या सुनाउन ५ दिनदेखि सिंहदरबार धाइरहेका छन्। यादव र राजपुतले ‘आफ्ना आवाज नसुन्ने सरकारले कान खोलोस्’ भन्ने संकेतका रूपमा सिंहदरबार गेटमा सत्तारूढ रास्वपाकै चुनाव चिह्न घन्टी बजाएर प्रदर्शन गरिरहेका थिए। ‘पहिले अरू पार्टीका मान्छे भन्ठानेर हाम्रो आवाज नसुनिएको होला, घन्टी बजाउँदा अब हामी रास्वपा भयौं होला, अब पनि सरकारले न्याय दिन्छ कि दिँदैन?,’ बिनु यादवले प्रश्न गरिन्, ‘घन्टीले न्याय दिन्छ, सुशासन दिन्छ भनेर भोट मागिएको थियो, अहिले रवि दाइलाई घन्टी नै बजाएर सोधिरहेका छौं, के घन्टीले हामीलाई न्याय दिन्छ?’

न्याय माग्दा पटकपटक आफूहरूलाई नियन्त्रणमा लिइएको भन्दै उनले घन्टी बजाएपछि रास्वपा सभापति रवि लामिछाने, प्रधानमन्त्री वालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङले आवाज सुन्लान् कि भन्ने लागेको बताइन्। राजपुतले घन्टी भोट माग्नका लागि मात्र प्रयोग गरिएको होइन भने आफूहरूको आवाज सुन्नुपर्ने बताइन्।

निहारिकाले आफूमाथि बलात्कार भएको भन्दै लामो समयदेखि न्याय मागिरहेकी छन्। जिल्ला अदालत धनुषाले आरोपितलाई सफाइ दिएपछि उनी न्यायको ढोका ढकढकाउन फेरि उच्च अदालत पुगेकी थिइन्। त्यसक्रममा आरोपित शिवराज श्रेष्ठ र निहारिकाको डीएनए जाँच गर्दा मिलेको पनि थियो। पछि उनीहरूलाई दबाबपूर्वक मिलापत्र गराइयो। त्यसैले आफूमाथि अन्याय भएको भन्दै उनले प्रदर्शन जारी राखेकी छन्। बिनु पनि हिंसापीडित छिन्।

निहारिका र बिनुले शनिबार सिंहदरबार गेटअगाडि घन्टी बजाएर घन्टी पार्टी नेतृत्वको सरकारसँग न्याय मागिरहँदा माइतीघर मण्डलमा जातीय विभेद सदाका लागि अन्त्य हुनुपर्ने भन्दै प्रदर्शन भइरहेको थियो। जातका आधारमा घरभेटीले समेत विभेद गरिरहेको भन्दै जातीय छुवाछूतविरुद्धको अभियोगले प्रश्न सोधेको थियो, ‘तिम्रो चेतनाले मान्छे चिन्दैन र?’।

साउने झरीका बीचमा माइतीघर मण्डलमा शनिबार मात्र ९ वटा धर्ना र विरोध प्रदर्शन भए। केही पीडित लामो समयदेखि त्यही पालमा बसेर न्यायका लागि आवाज उठाइरहेका छन्। तीन महिनादेखि पालमा बसेर न्याय माग्दै आएकीमध्येकी हुन्, ४७ वर्षीया ओखलढुंगाकी उमा खत्री। २३ भदौको जेन–जी प्रदर्शनका क्रममा उनका २३ वर्षीय छोरा मिलन खत्रीलाई प्रहरीको दुइटा गोली लागेको थियो, प्रारम्भिक उपचारपछि उनी खतरामुक्त थिए।

मकै पोलेर जीविका चलाउँदै आएकी उमा छोराले गोली खाएको त्यही जेन–जी आन्दोलनको जगमा भएको निर्वाचनबाट सत्तामा आएको रास्वपा नेतृत्वको सरकारसँग छोराको न्यायका लागि तीन महिनादेखि माइतीघरमा बसिरहेकी छन्। ‘छोराहरूले गोली खाएर नेताहरू बनाएकाहरूले अहिले देश चलाइरहेका छन्, तर गोली थाप्ने तिनै छोराहरूका लागि एउटा हस्ताक्षरसमेत गरेका छैनन्,’ खत्रीले भनिन्, ‘घरमा केही गर्ला भन्ने उही थियो, उसैलाई थुन्दा परिवारकै हालत बिग्रिएको छ।’

केहीअघि गृहमन्त्री गुरुङ माइतीघर मण्डलमा आउँदा आफूहरूको पीडा सुने पनि कुनै सहयोग नगरेको उनको गुनासो छ। ‘हामी तीन/चारचोटि सिंहदरबारमा समेत गृहमन्त्रीलाई भेट्न गएका थियौं, उहाँले नआत्तिनुस् निस्किन्छन् भन्नुभएको थियो,’ खत्रीले आक्रोश पोखिन्, ‘तर, अहिलेसम्म केही भएको छैन, साँच्चै कसैलाई मारेको भए, गल्ती गरेको भए सजाय भोगिरहेको छ भन्ने हुन्थ्यो ।

नेपाल जेन–जी मुभमेन्ट एलायन्सका अमित उर्जा सरकारले पुपुलिस्ट मुद्दालाई सम्बोधन गर्न प्राथमिकता दिएजस्तो देखिए पनि आमनागरिकको पीडालाई ध्यान नदिएको आरोप लगाउँछन्। जेन–जी आन्दोलनमा सहभागी भएकै कारण थुनामा पुगेकाका परिवारले लामो समयदेखि धर्ना दिइरहेको भए पनि त्यसलाई सरकारले सुनुवाइ नगरेको उनी बताउँछन्।

माइतीघर मण्डलमै शनिबार सर्लाहीको बरहथवाका ४८ वर्षीय भागनारायण मण्डल मिटरब्याजका कारण पीडित भएको भन्दै धर्नामा बसिरहेका छन्। उनी वैदेशिक रोजगारीका लागि बहराइनमा गएका बेला श्रीमती उमा महतोले २०७२ मा निर्मला मैनालीको परिवारबाट डेढ लाख रुपैयाँ ऋण लिएकी थिइन्। त्यसको १० दिनपछि १० लाख रुपैयाँ बराबरको तमसुकमा हस्ताक्षर गराइएको थियो।

मण्डलका अनुसार, २०७४ मा उमाका दाइले उनको नाममा १० कट्ठा जग्गा पास गरिदिएका थिए। त्यो जग्गालाई लिएर निर्मलाले दिनरात आएर धितो राख्न दबाब दिएको मण्डलले सुनाए । ‘उमालाई धितो कसरी राखिन्छ थाहा हुने कुरा भएन, त्यसपछि छोरा निशानले नै लगिदिन्छ भनेर भनेकी थिइन्।’ पछि निशानले वडा कार्यालय हुँदै मालपोत कार्यालयसम्म उनलाई लगेको मण्डल बताउँछन्।

फरकफरक माग राख्दै सडकमा उत्रिएका अरू कतिपयले अझै न्याय पाउन सकेका छैनन्। रास्वपा नेतृत्वमा करिब दुईतिहाइ बहुमतको शक्तिशाली नयाँ सरकार बने पनि न्याय माग्दै सडकमा आउनेको संख्या बढ्दो छ। उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको तथ्यांकअनुसार, वालेन्द्र शाह प्रधानमन्त्री बनेयता काठमाडौंमा मात्र असार मसान्तसम्म ८ सयभन्दा बढी प्रदर्शन र धर्ना भएका छन्।

२०८३ चैतमा १ सय २० वटा विरोध प्रदर्शन र धर्ना भए भने वैशाखमा २ सय २२, जेठमा २ सय ४० र असारमा २ सय ८२ वटा विरोध प्रदर्शन भएका छन् । यो आर्थिक वर्षमा मात्र १ हजार ७ सय ७१ वटा विरोध प्रदर्शन भएको देखिन्छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा उपत्यकाभरि २ हजार १ सय ४५ वटा विरोध प्रदर्शन भएका थिए । आर्थिक वर्ष २०८०/८१ मा २ हजार २ सय ५२ वटा विरोध प्रदर्शन भएको प्रहरी तथ्यांक छ।

Logo