काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू मिल्नुपर्ने प्रस्तावप्रति विमति प्रकट गरेका छन् ।
आइतबार (साउन ३) ललितपुरमा आयोजित सन्त नेता कृष्णप्रसाद भट्टराईको शालिक अनावरण तथा ४४औँ बीपी स्मृति सप्ताहको शुभारम्भ कार्यक्रममा थापाले यस्तो प्रस्तावले लोकतान्त्रिक मूल्य र जनमतको अपमान हुने बताए ।
तीन दल मिलेर सरकार बनाउनु भनेको प्रदेश संसद्लाई प्रतिपक्षविहीन बनाउनु भएको थापाको टिप्पणी छ । तीन दलीय सरकार बनाउनु जनताले दिएको म्यान्डेटभन्दा फरक कुरा भएकाले कांग्रेसले यसलाई स्वीकार गर्न नसक्ने उनको भनाइ छ ।
नेपाली कांग्रेसले विगतमा सत्ताकै लागि कतिपय गल्ती गरेको स्वीकार गर्दै थापाले अब सिद्धान्तमा सम्झौता नगर्ने बताए । सत्तालाई सबैथोक मान्ने सोचका कारण २०७२ सालयताको राजनीति अस्थिर र दिशाहीन बनेको उनको तर्क छ ।
राजनीतिक दलहरूमा देखिएको सत्तामुखी प्रवृत्तिको आलोचना गर्दै थापाले बिहानसम्म सत्तापक्ष भएको दल भोलिपल्ट प्रतिपक्ष र प्रतिपक्षमा भएको दल एकाएक सत्तापक्ष हुने प्रवृत्तिले राजनीतिको साख गिरेको बताए ।
सत्ता नै सबै कुरा हो भन्ने मान्यताले गर्दा कांग्रेससहितका पुराना दलहरूले अहिले ठूलो मूल्य चुकाउनु परिरहेको उनको भनाइ छ ।































