काठमाडाैं । भारतका केन्द्रीय स्वास्थ्यमन्त्री जेपी नड्डाले कक्राेज जनता पार्टी (सीजेपी) का प्रतिनिधिहरूसँगको भेटवार्तापछि आफ्ना मागहरूका विषयमा छलफल गर्न केही समय मागेका छन्।
सीजेपीका प्रतिनिधि आशुतोष राङ्काले मन्त्री नड्डाले पार्टीका मागहरूलाई भारतीय जनता पार्टी (बीजेपी) को नेतृत्वसँग छलफल र समन्वय गर्न समय मागेको जानकारी दिएका छन्।
सोमबार मन्त्री नड्डाको निवासमा भएको भेटका क्रममा राङ्का र सौरव दासले आफ्ना मागहरू समेटिएको पत्र बुझाएका थिए। मन्त्री नड्डाले आफूहरूका मागका विषयमा आन्तरिक रूपमा कुराकानी गर्ने आश्वासन दिएको सीजेपीका प्रतिनिधिहरूले बताएका छन्। सीजेपीले आफ्ना मुख्य मागहरूमा सामाजिक अभियन्ता सोनम वाङचुकको तत्काल रिहाइ, केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा र नीट–यूजी २०२६ को परीक्षाका क्रममा आत्महत्या गरेका विद्यार्थीका परिवारलाई १ करोड रुपैयाँ क्षतिपूर्ति प्रदान गर्नुपर्ने विषयहरू अघि सारेको छ।
यसअघि, सीजेपीका संस्थापक अभिजित दिपकेलाई दिल्ली प्रहरीले हिरासतमा लिएको खबर बाहिरिएको थियो भने जन्तर मन्तरमा प्रदर्शन गरिरहेका सीजेपीका कार्यकर्ताहरूलाई तितरबितर पार्न प्रहरीले लाठीचार्जसमेत गरेको थियो।
दिल्लीमा संसद्को मनसुन सत्र सुरु भएसँगै सुरक्षा व्यवस्था कडा पारिएको छ र तोकिएको स्थानबाहेक अन्यत्र विरोध प्रदर्शन गर्न निषेध गरिएको छ। सीजेपीले आफ्ना मागहरू पूरा नभएसम्म दबाब जारी राख्ने जनाएको छ, जबकि सरकारका तर्फबाट भने यस विषयमा थप औपचारिक प्रतिक्रिया आउन बाँकी छ।































