नेतन्याहुलाई अमेरिकामा गिरफ्तार गरिने छैन: ट्रम्प

नेतन्याहुलाई अमेरिकामा गिरफ्तार गरिने छैन: ट्रम्प

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई कुनै पनि परिस्थितिमा संयुक्त राज्य अमेरिकामा पक्राउ नगरिने बताएका छन्। ट्रम्पको यो अभिव्यक्ति न्युयोर्क सहरका मेयर जोहरान ममदानीले नेतन्याहु न्युयोर्क आएमा गिरफ्तार गरिने सम्भावना रहेको बताएपछि आएको हो।

मेयर ममदानीले इजरालयका प्रधानमन्त्री नेतन्याहु आगामी सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क आए आफ्नो कानुनी विभागले उनलाई पक्राउ गर्ने विषयमा विचार गरिरहेको बताएका थिए।

द न्युयोर्क टाइम्सको पोडकास्ट ‘द इन्टरभ्यु’मा ममदानीले भनेका छन्, ‘हाम्रो कानुनी विभागले नेतन्याहुको सम्भावित गिरफ्तारीको कानुनी पक्षका विषयमा सक्रिय रूपमा छलफल गरिरहेको छ।’

त्यसपछि ट्रम्पले सोमबार राति सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै त्यसको खण्डन गरेका हुन्। उनले लेखेका छन्, ‘बेन्जामिन नेतन्याहुलाई संयुक्त राज्य अमेरिकामा रहँदा कुनै पनि हिसाबले पक्राउ गरिने छैन। उनी इरानविरुद्ध लडिरहेका छन्, जसले हालै ५२,००० निर्दोष प्रदर्शनकारीको हत्या गरेको छ र ४७ वर्षदेखि अमेरिकी सैनिकहरूसहित धेरैलाई मारिरहेको छ।’

उनले अगाडि लेखेका छन्, ‘गिरफ्तार त उनीहरूलाई गरिनुपर्छ, जसले इरानलाई मृत्यु र विनाशको भड्खालोमा धकेले। यो मामिला अघिल्ला राष्ट्रपतिहरूले वर्षौंअघि नै सम्हाल्नुपर्थ्यो।’

अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसहित धेरै जना नेताविरुद्ध २०२४ मा पक्राउ पुर्जी जारी गरेको थियो। उनीविरुद्ध २०२३ अक्टोबर ७ मा हमासको हमलापछि गाजामा युद्ध अपराध गरेको अभियोग लगाइएको छ।

तर अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्वराष्ट्रपति जो बाइडेन दुवैले आईसीसीको त्यो पक्राउ पुर्जीको आलोचना गरेका थिए। यहीबिच न्युयोर्कका मेयर ममदानीले नेतन्याहु आए गिरफ्तार गर्ने सम्भावना रहेको भनेपछि सामाजिक सञ्जालमा बहस सिर्जना गरेको छ। धेरै मानिसले यसलाई ममदानीको घमण्ड भनेका छन्।

यस विषयमा प्रतिक्रिया दिँदै संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत माइक वाल्ट्जले ममदानीले भनेअनुसार नेतन्याहुलाई गिरफ्तार गर्न किन सकिँदैन भनेर बताएका छन्।

उनले एक्समा लेखेका छन्, ‘मेयर ममदानी! संयुक्त राष्ट्रसंघको महासभाको समयमा न्युयोर्कमा प्रधानमन्त्री नेतन्याहुलाई पक्राउ गर्ने तपाईंको धम्की कार्यान्वयन हुन नसक्ने चार कारण बताउँछु।’‘पहिलो- संयुक्त राज्य अमेरिका अन्तर्राष्ट्रिय फौजदारी अदालत जुन कानुनी-व्यवस्थामा आधारित छ, त्यस सन्धिको पक्षधर होइन।’

‘दोस्रो- संयुक्त राष्ट्रसंघको मुख्यालय सम्झौताले संयुक्त राष्ट्रसंघको बैठकमा भाग लिने विदेशी सरकार प्रमुखहरूलाई कूटनीतिक सुरक्षा प्रदान गर्दछ।’‘तेस्रो- यस्ता घटनामा राष्ट्र प्रमुख वा सरकार प्रमुखको कानुनी उन्मुक्ति पनि लागु हुन्छ’‘र, चौथो- विदेश नीति र यस्ता कानुनी मामिलामा संघीय सरकारको अधिकार स्थानीय प्रशासनभन्दा माथि हुन्छ, त्यसैले यस्तो कारबाही न्युयोर्कका मेयरको इच्छा वा घोषणाबाट गर्न सकिँदैन।’

‘संयुक्त राष्ट्रसंघको आयोजक राष्ट्रका रूपमा संयुक्त राज्य अमेरिकालाई अन्तर्राष्ट्रिय दायित्व लागु हुन्छ र त्यस्ता मामिलाको अधिकार संघीय सरकारमा हुन्छ, न्युयोर्क सहर प्रशासनसँग होइन।’

यसैबिच रेडियो होस्ट सिड रोजेनबर्गसँग नेतन्याहुले हालै गरेको कुराकानी सामाजिक सञ्जालमा छाएको छ। रोजेनबर्ग ममदानीका कट्टर आलोचक हुन्। रोजेनबर्गसँगको कुराकानीमा नेतन्याहुले ममदानी हमाससँग सहानुभूति राख्ने व्यक्ति भएको आरोप लगाएका छन्।

Logo