सिक्काबाट नेपालको चुच्चे नक्सा हटाउने राष्ट्र बैंकको प्रस्ताव मन्त्रिपरिषद्‌बाट फिर्ता

सिक्काबाट नेपालको चुच्चे नक्सा हटाउने राष्ट्र बैंकको प्रस्ताव मन्त्रिपरिषद्‌बाट फिर्ता

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । एक रुपैयाँको सिक्कामा नेपालको नक्सा हटाएर मुस्ताङको घार गुम्बाको तस्वीर राख्ने गरी नेपाल राष्ट्र बैंकले स्वीकृतिका लागि पठाएको डिजाइनलाई मन्त्रिपरिषद्ले फिर्ता गरिदिएको छ ।

नेपाल राष्ट्र बैंकले एक रुपैयाँको सिक्कामा नेपालको सबैभन्दा पुरानो गुम्बा मुस्ताङको घार गुम्बा राख्ने गरी नेपाल राष्ट्र बैंकको नोट तथा सिक्का डिजाइन समितिले नयाँ डिजाइन तयार पारेको थियो ।

पद्मसम्भवले स्थापना गरेको १४ सय वर्ष पुरानो घार गुम्बा नेपालको सबैभन्दा पुरानो गुम्बा मानिन्छ । डिजाइन समितिले तयार पारेको डिजाइन राष्ट्र बैंकको सञ्चालक समितिले स्वीकृत गरी मन्त्रिपरिषद्‍मा पठाएको थियो । नेपाल राष्ट्र बैंक ऐनमा कुनै पनि नोट वा सिक्काको डिजाइन स्वीकृत गर्दा वा डिजाइन परिवर्तन गर्दा त्यसलाई मन्त्रिपरिषद्‍बाट स्वीकृत गराउनुपर्ने व्यवस्था छ ।

बैंकले १ रुपैयाँ र १० रुपैयाँको सिक्काको डिजाइन मात्रै होइन, टकमरी गर्ने धातु र वजन पनि परिमार्जन गर्न नेपाल राष्ट्र बैंकले मन्त्रिपरिषद्‍मा सिफारिस गरेको थियो । यसअघि १ रुपैयाँको सिक्कामा नेपालको नक्सा थियो । त्यसको ठाउँमा घार गुम्बाको तस्वीर राख्ने राष्ट्र बैंकको प्रस्ताव अर्थ मन्त्रालय हुँदै मन्त्रिपरिषद् पुगेको थियो ।

तर, मन्त्रिपरिषद्ले सो डिजाइनमा नेपालको नक्सा पनि राखेर नयाँ डिजाइन सिफारिस गर्न भन्दै फिर्ता पठाइदिएको नेपाल राष्ट्र बैंक स्रोतले जानकारी दियो ।

‘नेपालमा धेरै प्रकारका नोट तथा सिक्काहरू प्रचलनमा छन् । ती सबैमा नेपालको नक्सा छैन । यसअघि १ रुपैयाँको सिक्कामा नेपालको नक्सा थियो । त्यसको डिजाइन परिवर्तन गर्नुपर्ने, टकमरी गर्ने धातु पनि परिवर्तन गर्नुपर्ने तथा तौल पनि परिवर्तन गर्नुपर्ने देखियो,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘सबै नोट–सिक्कामा नेपालको नक्सा नै किन चाहियो र ? भनेर डिजाइन समितिले १ रुपैयाँको नोटमा घारगुम्बाको तस्वीर राखेर पठाएको थियो, तर मन्त्रिपरिषद्ले डिजाइन परिमार्जन गर्न भनेर फिर्ता पठाएको रहेछ ।’

नेपाल राष्ट्र बैंकलाई एक रुपैयाँको सिक्काको प्रस्तावित डिजाइन परिमार्जन गरेर नयाँ प्रस्ताव बनाएर ल्याउन भनिएको प्रधानमन्त्री कार्यालय स्रोतले पनि पुष्टि गर्‍यो । नेपालले निशान छापमा लिम्पियाधुरा सहितको चुच्चे नक्सा राख्न २०७७ सालमा संविधान संशोधन गरेको थियो । त्यसपछि छापिएका १ र २ रुपैयाँको सिक्का र १०० रुपैयाँको नोटमा चुच्चे नक्सा समावेश छन् ।

अहिले एक रुपैयाँको सिक्का पहेँलो धातुले बनेको हुन्छ । तर, राष्ट्र बैंकले प्रस्ताव गरेको डिजाइनअनुरूपको सिक्का भने सेतो धातुबाट बनाइने स्रोतको दाबी छ । १ रुपैयाँको सिक्का टकमरी गर्न २ रुपैयाँभन्दा बढी खर्च हुने भएपछि खर्च कम गर्न तथा तौल पनि घटाउन सेतो धातुमा सिक्का उत्पादनको तयारी गरिएको स्रोतको दाबी छ ।

नेपाल राष्ट्र बैंक स्रोतअनुसार १ रुपैयाँ मात्रै होइन, १० रुपैयाँको सिक्काको डिजाइन पनि परिवर्तनको प्रस्ताव गरिएको छ । १० रुपैयाँको सिक्का अहिल्यै टकमरी गरिहाल्ने योजना नभए पनि भविष्यमा टकमरी गर्नुपर्दाका लागि भनेर डिजाइन परिवर्तनको प्रस्ताव गरिएको स्रोतको दाबी छ ।

१० रुपैयाँको सिक्कामा भने दैलेखको भूर्ति देवलको चित्र राख्ने प्रस्ताव गरिएको हो ।दैलेखको नारायण नगरपालिका ७ भूर्तिमा रहेका २२ देवललाई भूर्तिदेवल भनिन्छ । यी देवललाई विश्व सम्पदामा सूचीकरणका लागि सन् २००८ जनवरी ३० देखि ‘क’ वर्गमा राखिएको छ ।

यी देवलहरू चौधौं र पन्ध्रौं शताब्दीतिरको कर्णाली प्रदेशका खस मल्ल राज्यकालीन समयमा निर्माण गरिएका हुन् । विगतमा यहाँ २५ वटा देवल रहेका भए पनि उचित संरक्षणको अभावमा हाल २२ मात्र बाँकी छन् । सदरमुकामबाट २० मिनेटको पैदल दूरी र सवारी साधनमा १० मिनेटमा भूर्ती देवल पुग्न सकिन्छ ।

Logo