आइसिसी क्रिकेट विश्वकप लिग–२ को जारी संस्करणमा नेपाल हाल पाँचौं स्थानमा छ। शीर्ष चारमा स्थान सुरक्षित गर्न नेपालका लागि अब आठवटै खेल निर्णायक हुने छन्।
ताजा अवस्थामा नेपालले २८ खेलबाट २४ अंक जोडेको छ। अहिलेसम्म नेपालले ११ मा जित, १५ मा हार तथा दुई खेलमा अंक बाँडेको छ।
गत संस्करणमा नेपालले तेस्रो स्थान हासिल गरेर सोझै एकदिवसीय विश्वकप छनोट खेलेको थियो। त्यो उपलब्धि दोहोर्याउन नेपालले अब उत्कृष्ट प्रदर्शन गर्नुको विकल्प छैन।
हाल नेदरल्याण्ड्स भ्रमणमा रहेको नेपाली टिम आजदेखि सिरिज खेल्ने तयारीमा छ। सिरिजमा नेपालको प्रतिस्पर्धी छन्, नेदरल्याण्ड्स र नामिबिया।
नेपालले यस भ्रमणमा चारवटै खेल जित्ने लक्ष्य लिएको छ। यदि त्यो लक्ष्य हासिल भएमा नेपालले महत्वपूर्ण ८ अंक जोड्ने छ। चारवटै खेलमा जित प्राप्त गर्न सके नेपाल तालिकाको चौथो स्थानमा उक्लिने छ।
यद्यपि नेदरल्याण्ड्सको पिचमा लगातार चार खेल जित्न नेपाललाई सहज छैन। युरोपको पिचमा नेपालको विगत प्रदर्शन सन्तोषजनक छैन। त्यसकारण यसपालि नेपालसामु खराब विगत नतिजामा सुधार गर्ने मौका पनि छ।
सिरिजको पहिलो खेलमा नेपालले मंगलबार नामिबियासँग खेल्दै छ।































