काठमाडौं। प्रशान्त महासागरमा रुससँगको संयुक्त नौसैनिक अभ्यासका क्रममा चिनियाँ नौसेनाको एक विध्वंसक जहाजले जापानको दुर्गम टापु ओकिनोतोरी नजिक ‘लाइभ–फायर’ (वास्तविक गोलीबारीसहित) अभ्यास गरेपछि जापानले सुरक्षा चिन्ता व्यक्त गरेको छ ।
जापानको संयुक्त सैन्य मुख्यालयका अनुसार, आइतबार जापानी नौसेनाले ‘लुयाङ–३’ श्रेणीको चिनियाँ गाइडेड–मिसाइल विध्वंसक जहाजलाई अन्य दुई चिनियाँ युद्धपोत र एक रुसी फ्रिगेटसँग संयुक्त रूपमा सञ्चालन भइरहेको अवस्थामा पहिचान गरेको थियो । त्यसको केही घण्टापछि उक्त जहाजले ओकिनोतोरी टापु नजिक ‘लाइभ–फायर’ अभ्यास गरेको थियो ।
मन्त्रिपरिषद्का मुख्य सचिव मिनोरु किहाराले उक्त अभ्यासले आसपासका जहाजको सुरक्षामा जोखिम उत्पन्न गरेको भन्दै जापानले चीनसमक्ष औपचारिकरूपमा चिन्ता व्यक्त गरेको बताए । उनका अनुसार अभ्यास सुरु हुनुअघि चिनियाँ युद्धपोतले सो क्षेत्रमा रहेका जहाजलाई पूर्वसूचना दिएका थिए ।
उनले जापान वरपर चीन र रुसका सैन्य गतिविधिमाथि निरन्तर निगरानी राखिने तथा देशको हवाई र सामुद्रिक सुरक्षालाई थप सुदृढ बनाइने बताए ।
रक्षामन्त्री सिन्जिरो कोइजुमीले यो घटनाले चीन–रुसबीचको बढ्दो सैन्य सहकार्यलाई स्पष्ट पारेको टिप्पणी गरे। उनले चीनद्वारा हालै गरिएको पनडुब्बीबाट ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण तथा जापान वरपर चीन र रुसका बमवर्षक विमानहरूको संयुक्त उडानलाई पनि चिन्ताको विषय बताए ।
यता, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले जापानले आफ्नो सैन्य क्षमता विस्तारलाई औचित्य दिन चीनसम्बन्धी खतरा बढाइचढाइ गरेर प्रस्तुत गरेको आरोप लगाउनुभयो । उहाँले जापानको चिन्तालाई आधारहीन भन्दै अस्वीकार गरे।
जापानका अनुसार उक्त ‘लाइभ–फायर’ अभ्यास ओकिनोतोरी टापुको दक्षिण–पश्चिममा करिब १८० किलोमिटर दूरीमा, जापानले दाबी गर्ने विशेष आर्थिक क्षेत्र (इइजेड) भित्र गरिएको थियो । तर चीनले ओकिनोतोरी टापु नभई चट्टान मात्र भएको दाबी गर्दै त्यस क्षेत्रमा जापानको इइजेड दाबी अन्तरराष्ट्रिय कानुनअनुकूल नभएको जनाएको छ ।
चीनले यसअघि जुलाई १३ मा रुससँगको संयुक्त नौसैनिक अभ्यास सम्पन्न भएको र सहभागी केही युद्धपोतले प्रशान्त महासागरमा संयुक्त गस्ती जारी राखेको जनाएको थियो । तर गस्तीका क्रममा ‘लाइभ–फायर’ अभ्यास किन गरिएको भन्नेबारे चीनले स्पष्ट पारेको छैन ।































