काठमाडौं । काठमाडौं मोडल कलेज (केएमसी)मा केएमसी एन्टरप्रेनरसिप क्लब तथा केएमसी मिडिया रिचआउट क्लबको आयोजना तथा केएमसी स्टुडेन्ट क्वालिटी सर्कलको संयोजनमा “केएमसी हाटबजार २०८३” भव्य रूपमा सम्पन्न भएको छ।
“सिक्ने हात, कमाउने आँट” भन्ने मूल भावलाई आत्मसात् गरेको यस कार्यक्रमले विद्यार्थीहरूको उद्यमशीलता, सिर्जनशीलता, नवप्रवर्तन र नेतृत्व क्षमतालाई व्यवहारिक रूपमा प्रस्तुत गर्ने प्रभावकारी मञ्च प्रदान गरेको छ।
कार्यक्रमको प्रमुख अतिथि पूर्व मिस नेपाल २०१८, युवा उद्यमी तथा प्रतिनिधि सभा सदस्य अनुष्का श्रेष्ठ रहेकी थिइन् । कार्यक्रमको औपचारिक उद्घाटन काठमाडौं मोडल कलेजका कलेज प्रमुख सुरेन्द्र सुवेदी तथा काठमाडौं मोडल सेकेन्डरी स्कुलका प्राचार्य डा. नागेन्द्र आर्याल ले संयुक्त रूपमा गरेका थिए ।
कार्यक्रममा सहायक कलेज प्रमुख ध्रुवप्रसाद तिमल्सेनाले उद्घाटन मन्तव्य व्यक्त गर्दै उद्यमशील शिक्षा आजको आवश्यकता भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले विद्यार्थीलाई सिर्जनात्मक सोच, आत्मनिर्भरता र व्यवहारिक व्यवसायिक अनुभवतर्फ प्रेरित गर्ने बताए ।

कार्यक्रममा पूर्व मिस नेपाल २०१८, युवा उद्यमी तथा प्रतिनिधि सभा सदस्य अनुष्का श्रेष्ठले उद्यमशीलता आजको पुस्ताका लागि रोजाइ मात्र नभई आवश्यकता भएको उल्लेख गर्दै विद्यार्थीहरूले सानैदेखि सिर्जनशील सोच, नवप्रवर्तन र आत्मविश्वासका साथ आफ्ना विचारलाई व्यवहारमा उतार्नुपर्ने बताइन् । उनले “उद्यमशीलता भनेको व्यवसाय सुरु गर्नु मात्र होइन, समस्या पहिचान गरी त्यसको सिर्जनात्मक समाधान खोज्ने क्षमता हो” भन्दै यस्ता व्यवहारिक कार्यक्रमहरूले विद्यार्थीलाई नेतृत्व, सहकार्य, वित्तीय अनुशासन र जोखिम व्यवस्थापनजस्ता जीवनोपयोगी सीप विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन् ।

केएमसीले विद्यार्थीलाई कक्षाकोठाको सिकाइलाई व्यवहारिक अभ्याससँग जोड्दै उद्यमशील संस्कृतिको विकासमा पुर्याएको योगदानको उनले प्रशंसा गरिन् ।
यस वर्षको हाटबजारमा काठमाडौं मोडल कलेजसँगै केएमसी बागबजार, केएमएसएस बागबजार, केएमएसएस ललितपुर तथा एमआईटी कलेजका विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। विभिन्न संस्थाका विद्यार्थीहरूले आफ्ना उद्यमशील सोच, सिर्जना र बजार व्यवस्थापनसम्बन्धी सीपलाई एउटै मञ्चमार्फत प्रदर्शन गर्ने अवसर प्राप्त गरेका थिए।
कार्यक्रममा ३२ वटा विविध स्टलहरू राखिएका थिए, जहाँ विद्यार्थीहरूले स्वादिष्ट परिकार, फेसनेबल लुगा, हस्तनिर्मित गहना, हस्तकलाका सामग्री, होम डेकोर, ह्यान्डमेड फ्लावर लगायतका आकर्षक उत्पादनहरू प्रदर्शन तथा बिक्री गरेका थिए। प्रत्येक स्टलले विद्यार्थीहरूको सिर्जनशीलता, नवप्रवर्तनशील सोच र व्यवसायिक सम्भावनाको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको थियो।

करिब २,००० विद्यार्थी तथा आगन्तुकहरूको सहभागिता रहेको कार्यक्रममा धेरै विद्यार्थीका लागि आफ्नै उत्पादन बिक्री गर्ने, ग्राहकसँग प्रत्यक्ष संवाद गर्ने तथा वास्तविक बजारको अनुभव हासिल गर्ने यो पहिलो अवसर बनेको थियो। यस अनुभवले उनीहरूलाई उद्यमशीलता, ग्राहक सेवा, बजार व्यवस्थापन तथा व्यवसाय सञ्चालनका व्यवहारिक पक्षबारे महत्वपूर्ण सिकाइ प्रदान गरेको थियो।
कार्यक्रमको समापनमा उत्कृष्ट प्रदर्शन गर्ने स्टलहरूलाई सहायक कलेज प्रमुख ध्रुवप्रसाद तिमल्सेना, बिबिए तथा बिबिएम कार्यक्रम प्रमुख सागर खरेल, बिए तथा बिबिएस कार्यक्रम प्रमुख एलिस राजोपाध्याय तथा अध्यापक दामोदर लम्साल लगायतले नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

‘स्टुडियो क्रोम’ ले आफ्नो आकर्षक होम डेकोर अवधारणामार्फत “सबैभन्दा नवीन स्टल”को उपाधिसहित रु. ५,००० नगद पुरस्कार प्राप्त गर्यो। त्यसैगरी केएमसी बागबजारको ‘टेक हब’ ले रमाइला तथा सिर्जनात्मक खेलमार्फत दर्शकहरूको मन जित्दै “पिपुल्स च्वाइस अवार्ड” सहित रु. ५,००० नगद पुरस्कार प्राप्त गर्यो। सोही अवसरमा आर्ट एण्ड लिटरेचर क्लब द्वारा आयोजित मेहेन्दी प्रतियोगितामा बीबीएम दोस्रो सत्रान्तमा अध्ययनरत सनम यादव र गरिमा फुयाल प्रथम हुँदै जनही रु. २,५०० नगद पुरस्कार प्राप्त गर्न सफल भए भने बीबीए चौथो सत्रान्तमा अध्ययनरत पार्वती रावल र ज्यास्मिन खातुन द्वितीय हुँदै जनही रु. १,५०० नगद पुरस्कार प्राप्त गरे। यस प्रतियोगिताले विद्यार्थीहरूको सिर्जनशीलता, कलात्मक प्रतिभा र सहभागितालाई थप प्रोत्साहन प्रदान गरेको थियो।
































