दोलखा, २ मंसिर
जिल्लामा निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सुरुङको भोली आइतबार ‘ब्रेक थ्रू’ हुने भएको छ । आयोजनाका लागि आवश्यक पर्ने ८.२ किलोमिटरको मुख्य सुरुङ खन्ने काम सकिए पछि भोली ‘ब्रेक थ्रू’ हुन लागेको हो । आयोजनाका अनुसार सिभिल तर्फको काम करिब ९० प्रतिशत सकिएको छ ।इलेक्ट्रोमेकानिकलका लागि सामानहरु आयोजना स्थलमा पुर्याउने काम भइरहेको छ । खाँडीचौर देखि सिंगटी सम्मको प्रवेशमार्ग कालोपत्रेको काम सडक विभागले अगाडि बढाएको छ । अहिले विद्युतगृह जडानको काम अगाडि पनि बढेको छ ।
कंक्रिटको काम द्रुत गतिमा अघि बढाउन रातदिन काम भइरहेको आयोजना बताउँछ । टर्बाइन र प्रसारणलाइन निर्माणको काम पनि जारी छ । प्रसारणलाइनका लागि ठड्याउनु पर्ने १४७ वटा पोल मध्ये १६ वटा मात्र बाँकी छन् । आगामी असार मसान्त सम्ममा सिभिलको काम सकेर विद्युत उत्पादन गर्ने आयोजनाको लक्ष्य छ । डिसेम्बर ०१७ देखि नियमित उत्पादन शुरु भए पनि सबै निर्माण सक्न थप ६ महिना लाग्ने बताइएको छ । आयोजना विगत ६ वर्ष देखि निर्माणाधिन अवस्थामा छ ।































प्रतिक्रिया