काठमाडौं ,२, मंशिर
निर्वाचन आयोगले दुई चरणमा हुने प्रतिनिधिसभा र प्रदेश सभाको चुनावका लागि आठ दिन शैक्षिक संस्था बन्द गर्न माग गरेको छ। बिहीबार आयोगका प्रवक्ता नवराज ढकालले विज्ञप्ति सार्वजनिक गर्दै आठ दिन बिदा दिन सरकारसँग आग्रह गरेका हुन्। ‘आयोगले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा मंसिर ७ देखि १० र दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा मंसिर १८ देखि २१ सम्म सर्वजनिक तथा संस्थागत विद्यालय र क्याम्पसमा सार्वजनिक बिदा दिन सरकारसँग आग्रह गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ। निर्वाचनमा अधिकांश विद्यालय र क्याम्पसमा मतदान केन्द्र रहेको भन्दै आयोगले विद्यालय र क्याम्पस मतदान हुनु भन्दा तीन दिन अघि देखि बन्द गर्न गृह मन्त्रालयसँग माग गरेको हो।
त्यसैगरी आयोगले मंसिर १० र २१ गते सर्वजनिक बिदा दिन सरकारसँग आग्रह गरेको छ। ‘पहिलो चरण ३२ जिल्लामा मतदान हुने मंसिर १० गते र दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा मंसिर २१ गते सार्वजनिक बिदा दिन सरकारसँग आग्रह गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ, ‘मतदानका दिन सार्वजनिक यातायातका साधन सञ्चालन नहुने र अधिकांश कर्मचारी निर्वाचन सञ्चालन एवम् व्यवस्थापनमा खटिने भएको हुँदा मतदानका दिन सरकारी कार्यालय, अर्धसरकारी कार्यालय र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिन गृह मन्त्रालयमा पत्र पठाई आग्रह गरिएको हो।’
अन्नपूर्णबाट































प्रतिक्रिया