विश्वका खेल पत्रकारको मतदानमा मेसी नै उत्कृष्ट

विश्वका खेल पत्रकारको मतदानमा मेसी नै उत्कृष्ट

केन्द्रबिन्दु
12
Shares

मिलान । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान लियोनेल मेसीलाई फिफा विश्वकप २०२६ को उत्कृष्ट खेलाडी घोषित गरेको छ। विश्वभरका १२१ देशका ४७२ खेल पत्रकारको सहभागितामा गरेको मतदानका आधारमा मेसीले कुल ११७९ अंक प्राप्त गर्दै फ्रान्सका केलियन एमबाप्पे (७१७ अंक) र इंग्ल्यान्डका जुड बेलिङ्घम (४७० अंक) लाई पछि पारेका थिए।

एआईपीएसले आयोजना गरेको मतदानमा एआईपीएस कार्डधारी खेल पत्रकार तथा एआईपीएस विश्वकप हटलाइन कार्यक्रममा सहभागी विश्वभरका पत्रकार मतदाता रहेका थिए। उनीहरूले विश्वकपका उत्कृष्ट तीन खेलाडीलाई प्राथमिकताको आधारमा छनोट गरेका थिए।

मतदान प्रणालीअनुसार पहिलो स्थानका खेलाडीले ५ अंक, दोस्रो स्थानले ३ अंक र तेस्रो स्थानले १ अंक प्राप्त गरेका थिए। जुलाई १३ मा सार्वजनिक गरिएको अन्तिम सूचीमा २० खेलाडी समावेश थिए। विश्वभरका खेल पत्रकारको मतका आधारमा मेसीलाई फिफा विश्वकप २०२६ को एआईपीएस उत्कृष्ट खेलाडी घोषित गरिएको हो।

३९ वर्षीय मेसी विश्वकपको इतिहासमा ६ संस्करण खेल्ने तीन खेलाडीमध्ये एक बन्दै २०२६ को विश्वकपमा सहभागी भएका थिए। लगातार दोस्रो विश्वकप उपाधिबाट उनी एक जितले मात्र टाढा रहे पनि उनले आफ्नो उमेरलाई चुनौती दिने अद्भुत प्रदर्शनमार्फत विश्व फुटबललाई फेरि एकपटक मोहित बनाए।

स्पेनसँगको हारपछि उनी भावुक बने। अर्जेन्टिनी समर्थकहरूले उनको नाम गुञ्जाइरहँदा उनी आँसुमा डुबेका थिए। उनले सोमबार इन्स्टाग्राममार्फत भनेका थिए, ‘यो पीडा असाध्यै ठूलो छ। यो घाउ निको हुन समय लाग्नेछ। तर हामीले अन्तिमसम्म दिएको संघर्ष, असम्भव जस्ता खेललाई जितमा बदल्दै सिर्जना गरेका अविस्मरणीय क्षणलाई म सधैं सम्झिरहने छु।’

२०२६ को विश्वकपमा अर्जेन्टिनी टोलीका प्रशिक्षक लियोनल स्कालोनीको टोलीका लागि मेसी वास्तविक धड्कन बनेका थिए। निर्णायक क्षणहरूमा उनले टोलीलाई नेतृत्व प्रदान गरे। ८ खेलमा ८ गोल र चार असिस्ट गर्दै उनले अर्जेन्टिनालाई फाइनलसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेका थिए। अ

मेसीले २०२६ को विश्वकपपछि आफ्नो नाममा अनेकौं कीर्तिमान थपे। पुरुष र महिला दुवै विश्वकपलाई समेट्दा उनी विश्वकप इतिहासका दोस्रो सर्वाधिक गोलकर्ता बनेका छन्। विश्वकपमा उनको कुल गोलसंख्या २१ पुगेको छ भने केलियन एम्बाप्पेको २२ गोल पुग्यो।

विश्वकप इतिहासमा सर्वाधिक १२ असिस्ट गर्ने खेलाडी पनि मेसी नै हुन्। उनको नाममा थुप्रै कीर्तिमान पनि छ। उनी विश्वकपमा सर्वाधिक ३४ खेल खेल्ने, विश्वकपमा सर्वाधिक २३ खेल जित्ने, नकआउट चरणमा सर्वाधिक १७ खेल खेल्ने, लगातार ९ विश्वकप खेलमा गोल गर्ने कीर्तिमान तथा किशोरावस्था २० र ३० को दशकमा विश्वकपमा गोल गर्ने एकमात्र खेलाडी हुन्।

Logo