भारत-बङ्गलादेशमा विद्युत् बिक्रीबाट नेपालले कमायो २९ अर्ब ३२ करोड

भारत-बङ्गलादेशमा विद्युत् बिक्रीबाट नेपालले कमायो २९ अर्ब ३२ करोड

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/०८२ र समीक्षा वर्ष २०८२/०८३ को क्रस–बोर्डर विद्युत् आयात–निर्यातसम्बन्धी विवरणअनुसार भारत र बङ्गलादेशमा गरिएको विद्युत् बिक्रीबाट नेपालले २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको छ। यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा ६७.९६ प्रतिशतले बढी हो।

प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा नेपालले २ अर्ब ३८ करोड २९ लाख युनिट विद्युत् निर्यात गरी १७ अर्ब ४५ करोड ८७ लाख रुपैयाँ आम्दानी गरेको थियो। समीक्षा वर्ष २०८२/०८३ मा भने निर्यातको परिमाण उल्लेखनीयरूपमा बढ्दै ३ अर्ब ८७ करोड ७४ लाख ९२ हजार युनिट पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ६२.८९ प्रतिशतको वृद्धि हो।

भारतीय ऊर्जा बजारका IEX-DAM, IEX-RTM, NVVN तथा बङ्गलादेशसँगको त्रिपक्षीय विद्युत् व्यापारमार्फत् औसत ७ रुपैयाँ ५६ पैसा प्रतियुनिटका दरले विद्युत् बिक्री हुँदा यो उच्च आम्दानी सम्भव भएको हो।

विद्युत् निर्यातबाट प्राप्त आम्दानी बढ्दै जाँदा बाह्य बजारबाट गरिने विद्युत् आयातमा भने स्पष्ट कमी आएको छ। आर्थिक वर्ष २०८१/०८२ मा १ अर्ब ६८ करोड ४ लाख युनिट विद्युत् आयात गर्न १२ अर्ब ९२ करोड ३० लाख रुपैयाँ खर्च भएको थियो।

समीक्षा वर्ष २०८२/०८३ मा आयात परिमाण ३१.५७ प्रतिशतले घटेर १ अर्ब १४ करोड ९८ लाख युनिटमा सीमित भएको छ। यससँगै आयातमा हुने कुल खर्च पनि १० अर्ब ५५ करोड ९९ लाख रुपैयाँमा झरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १८.२९ प्रतिशतले कम हो।

समीक्षा वर्षमा विद्युत् निर्यातबाट प्राप्त २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ आम्दानीबाट १० अर्ब ५५ करोड ९९ लाख रुपैयाँको आयात खर्च घटाउँदा नेपालले विद्युत् व्यापारमा १८ अर्ब ७६ करोड ४८ लाख रुपैयाँ खुद व्यापार बचत हासिल गरेको छ।

आर्थिक वर्ष २०८१/०८२ मा यस्तो बचत ४ अर्ब ५३ करोड ५७ लाख रुपैयाँ रहेकोमा समीक्षा वर्षमा यो रकम ३१३ प्रतिशतले बढेको देखिन्छ, अर्थात् खुद व्यापार बचत चार गुणाभन्दा बढीले विस्तार भएको हो।

Logo