काठमाडौं । आगामी सेप्टेम्बरमा जापानमा आयोजना हुने एसियन गेम्सको पुरुष क्रिकेट प्रतियोगितामा नेपालले समूह चरणमा टेस्ट मान्यता प्राप्त अफगानिस्तान र आयोजक जापानसँग प्रतिस्पर्धा गर्ने भएको छ।
प्रतियोगिताको समूह विभाजनका लागि आज सम्पन्न ड्रअनुसार नेपाल अफगानिस्तान र जापान रहेको समूहमा परेको हो। अर्को समूहमा हङकङ, मलेसिया र ओमान समावेश छन्।
समूह चरणबाट प्रत्येक समूहका शीर्ष दुई टोलीले क्वार्टरफाइनलमा स्थान बनाउने छन्। क्वार्टरफाइनलमा पुग्ने यी चार टोलीसँग भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशले प्रतिस्पर्धा गर्ने छन्। यी चार दक्षिण एसियाली शक्तिशाली टोलीले वरीयताका आधारमा सिधै अन्तिम आठमा स्थान सुरक्षित गरेका छन्।
नेपालले यसअघि छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै एसियन गेम्समा आफ्नो स्थान सुनिश्चित गरेको थियो। अब समूह चरण पार गर्दै अन्तिम आठमा पुग्ने लक्ष्यसहित नेपाली टोली मैदान उत्रिनेछ।
एसियन गेम्सअन्तर्गत क्रिकेट प्रतियोगिता २४ सेप्टेम्बरदेखि सुरु हुनेछ।


















