टिभीएसको दोस्रो इलेक्ट्रिक स्कुटर ‘अर्बिटर’ नेपाली बजारमा, मूल्य कति ?

टिभीएसको दोस्रो इलेक्ट्रिक स्कुटर ‘अर्बिटर’ नेपाली बजारमा, मूल्य कति ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ। नेपालका लागि टिभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो दोस्रो इलेक्ट्रिक स्कुटर ‘अर्बिटर’ नेपाली बजारमा भित्र्याएकाे छ। काठमाडौँस्थित सोल्टी होटेलमा बिहीबार आयोजित एक विशेष समारोहका बिच उक्त स्कुटर सार्वजनिक गरिएको हो।

कम्पनीले यस नयाँ इलेक्ट्रिक स्कुटरको मूल्य दुई लाख ८१ हजार नौ सय रुपैयाँ तोकेको छ।

आकर्षक र आधुनिक डिजाइनमा आएको अर्बिटरमा ३.१ किलोवाट आवरको ब्याट्रीप्याक र २.५ किलोवाट क्षमताको बीएलडीसी रियर हब मोटर जडान गरिएको छ । एकपटक पूर्ण रूपमा चार्ज गर्दा यसले १५८ किलोमिटरसम्मको आइडीसी रेन्ज दिने कम्पनीको दाबी छ।

६८ किलोमिटर प्रतिघण्टाको उच्च गति (टप स्पीड) क्षमता रहेको यस स्कुटरमा कम्पनीले ५ वर्ष वा ६० हजार किलोमिटरसम्मको भेहिकल, ब्याट्री र चार्जिङ वारेन्टी उपलब्ध गराएको छ।

सुरक्षा र अत्याधुनिक सुविधालाई प्राथमिकता दिइएको यस स्कुटरमा टिभीएस कनेक्ट एपसहितको रङ्गीन एलसीडी डिजिटल डिस्प्ले, पूरा एलईडी लाइट सेटअप, एलईडी डीआरएल, ब्लुटुथ कनेक्टिभिटी, टर्न बाइ टर्न नेभिगेसन, लाइभ लोकेसन र ओटीए अपडेट जस्ता प्रविधिहरू रहेका छन्। यसका साथै हिल होल्ड, एन्टी थेफ्ट, क्र्यास अलर्ट, क्रुज कन्ट्रोल, रिजेनेरेटिभ प्रविधि, मोटर कटअफ प्रविधि, विभिन्न राइडिङ मोड, रिभर्स मोड, रिभर्स पार्किङ असिस्ट र यूएसबी पोर्ट जस्ता आधुनिक फिचरहरू पनि यसमा समावेश छन्।

नेपाली सडक सुहाउँदो १६५ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको यस स्कुटरमा सम्म परेको सिट, अलोय ह्विल, फ्ल्याट फ्लोरबोर्ड, ३४ लिटरको ठुलो बुट स्पेस, ट्युबलेस टायर, ड्रम ब्रेक तथा टेलिस्कोपिक फ्रन्ट र रियर डुअल सक सेटअप दिइएको छ। यो स्कुटर नियोन सनबर्स्ट, कोस्मिक टाइटानियम र मार्सियन कपर गरी तीन वटा आकर्षक रङहरूमा उपलब्ध हुनेछ।

कार्यक्रममा बोल्दै कम्पनीका अन्तर्राष्ट्रिय व्यवसाय उपाध्यक्ष मधु प्रकाश सिंहले नेपाली सडक र यहाँको भौगोलिक अवस्थालाई विशेष ध्यानमा राखेर अर्बिटरको व्यापक परीक्षण गरिएको जानकारी दिए। उनले नयाँ स्कुटरले आरामदायी यात्रा, भरपर्दो कार्यसम्पादन र आधुनिक प्रविधिको सही संयोजनमार्फत नेपाली ग्राहकको अपेक्षा पूरा गर्ने विश्वास व्यक्त गरे।

त्यस्तै, जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले अर्बिटरको विशेषताहरूबारे प्रकाश पार्दै नेपालमा यसको आगमनले स्वच्छ, स्मार्ट र दिगो यातायातको विस्तारमा महत्त्वपूर्ण योगदान पुर्‍याउने बताए। यो स्कुटर ऊर्जावान्, गतिशील शैली र चलाउन सहज भएकाले विशेष गरी युवा पुस्ताका लागि निकै उपयुक्त रहेको उनको भनाइ थियो।

आईक्युब पछि अर्बिटर नेपालमा टिभीएसको दोस्रो इलेक्ट्रिक मोडलका रूपमा भित्रिएको हो।

Logo