चारअर्ब १८ करोड बढीको कुकुर-बिरालोको खाना अमेरिका निर्यात

चारअर्ब १८ करोड बढीको कुकुर-बिरालोको खाना अमेरिका निर्यात

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । नेपालले अमेरिकामा ४ अर्ब १८ करोड ८६ लाख रुपैयाँ बराबरको छुर्पी निर्यात गरेको छ । कुकुर र बिरालाको खानाको रूपमा निर्यात हुने छुर्पीले नेपाली निर्यात विविधीकरणमा नयाँ आयाम थपेको विभागको तथ्यांकबाट देखिन्छ ।

निर्यात सूचीमा सोयाबिन तेल पहिलो र अलैँची दोस्रो स्थानमा रहेका छन् भने ऊनी गलैँचा, सूर्यमुखी तेल र जुटको कपडा क्रमशः शीर्ष पाँचभित्र छन् । यसका साथै हङकङमा बहुमूल्य जडीबुटी यार्चागुम्बा, युरोपमा चिया तथा पश्मिना र जापानमा घिउजस्ता वस्तुहरूको निर्यातले विदेशी मुद्रा आर्जनमा महत्त्वपूर्ण सहयोग पुर्‍याइरहेका छन् ।

निर्यातीत सबैखाले वस्तुहरू डलर आर्जन गर्ने प्रमुख स्रोत हुन् । यसमध्ये पनि गलैँचा र फेल्टजस्ता हस्तकलाका बस्तुहरूको निर्यात राम्रो भएकाले वैदेशिक मुद्रा आर्जनमा बढी योगदान पुगेका देखिन्छ ।

भन्सार विभागको तथ्यांकअनुसार गत आवमा मात्रै भारतमा भटमासको तेल, अलैँची, सूर्यमुखी तेल, चिया, जुस, सिमेन्ट क्लिंकर र पोर्टल्याण्ड सिमेन्टजस्ता बस्तु ठूलो मात्रामा निर्यात भएका छन् ।

नेपालका बहुमूल्य वस्तुहरूका लागि अमेरिका एक भरपर्दो बजार सावित भएको छ । अमेरिकामा ६ अर्ब ७३ करोड १३ लाख रुपैयाँ बराबरको गलैँचा निर्यात भएको छ, जुन यो क्षेत्रको सबैभन्दा ठूलो निर्यात हो । यससँगै, १ अर्ब ९२ करोड ३६ लाख रुपैयाँ बराबरको फेल्ट सामग्री अमेरिका पठाइएको छ ।

युरोपमा विशेष गरी जर्मनी र बेलायत नेपाली वस्तुका प्रमुख खरिदकर्ता हुन् । जर्मनीमा १ अर्ब २८ करोड २३ लाख रुपैयाँको सल/स्कार्फ र करिब ४० करोडको पस्मिना जर्सी निर्यात भएको छ । जर्मनीले नेपालबाट १० करोड ३६ लाख रुपैयाँ बराबरको हरियो चिया पनि आयात गरेको छ । बेलायतमा ४९ करोड २७ लाख रुपैयाँको गलैँचा र २८ करोड ९२ लाख रुपैयाँको पस्मिना सामग्री निर्यात भएको छ ।

यस्तै, बहुमूल्य यार्सागुम्बाको प्रमुख गन्तव्य हङकङ बनेको छ । सो देशमा २३ करोड १३ लाख रुपैयाँ बराबरको ३२० केजी यार्सागुम्बा निर्यात भएको छ । यस्तै, ७ करोड १८ लाख रुपैयाँ बराबरको मह नेदरल्याण्ड्स निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ ।

जापानमा ४ करोड ३२ लाख रुपैयाँको घिउ र करिब १५ करोड ९३ लाख रुपैयाँको मिचुमाताको बोक्रा निर्यात भएको छ । चीनतर्फ २० करोड १६ लाख रुपैयाँ बराबरको वनस्पति अर्किड र एक्स्ट्राक्टहरू निर्यात भएको छ ।

नेपालबाट निर्यात हुने वस्तुको सूचीमा भटमासको तेल अग्रस्थानमा रहेको छ । यसको मुख्य बजार भारत हो । नेपाल भटमास तेलको कच्चापदार्थमा आन्तरिक बजारबाट भन्दा पनि बाह्य मुलुकमै निर्भर हुनु परेको छ । भटमास तेलका लागि आवश्यक कच्चापदार्थ भारत तथा अन्य मुलुकबाट आयात गरेर नेपालमा प्रशोधन गरी फेरि निर्यात गर्ने प्रवृत्ति छ ।

कृषिजन्य वस्तुतर्फ अलैँची दोस्रो ठूलो निर्यातित वस्तु बनेको छ । भारततर्फ मात्रै १२ अर्ब ६३ करोड ६९ लाख रुपैयाँको अलैँची निर्यात भएको छ भने इटाली र जापानमा पनि यसको माग देखिएको छ ।

नेपाली हस्तकलाको पहिचान बोकेको गलैँचा, निर्यातमा तेस्रो स्थानमा छ । गत आवमा मात्रै विभिन्न मुलुकमा ९ अर्ब ८८ करोड रुपैयाँ बराबरको उनीको गलैँचा बिक्री भयो । यसमध्ये सबैभन्दा ठूलो हिस्सा संयुक्त राज्य अमेरिका पठाइएको विभागको तथ्यांकमा उल्लेख छ ।

प्रशोधित सूर्यमुखी तेल निर्यातमा चौथो स्थानमा रहेको छ । गत आव मात्रै ८ अर्ब ९४ करोड रुपैयाँ बराबरको सूर्यमुखी तेल निकासी भयो । भारततर्फ यसको ठूलो परिमाणमा निर्यात भएको तथ्यांकमा उल्लेख छ ।

जुट उद्योगबाट उत्पादित कपडाहरू विशेष गरी भारतीय बजारमा निर्यात हुने गरेका छन् । गत आर्थिक वर्षमा ७ अर्ब १४ करोड रुपैयाँ बराबरको जुटको कपडा भारततर्फ पठाइएको छ ।

तेस्रो मुलुकबाट आयात गरी प्रशोधन गरेर भारततर्फ निर्यात गरिने पाम तेल नेपालको छैटौँ ठूलो निर्यातित वस्तु हो । गत आवभर यो तेल ६ अर्ब ६६ करोड रुपैयाँ बराबरको निर्यात भएको विभागले बताएको छ ।

मुलुकभर रहेका धागो उद्योगहरूबाट उत्पादित मिश्रित पोलिस्टर धागोको ठूलो हिस्सा भारत र टर्कीमा निर्यात भएको छ । अन्य धागो र पोलिस्टर मिश्रित भएको यस्तो धगो मात्रै ५ अर्ब ७८ करोड रुपैयाँ बराबरको निर्यात भएको छ ।

सिंगल पोलिस्टर धागो – समग्रमा सिंगल पोलिस्टर धागो निर्यातमा आठौँ स्थानमा छ । जसको मुख्य निर्यात गन्तव्य भारत र टर्की हुन् । गत आवमा मात्रै यस्तो धागो ५ अर्ब ४२ करोड रुपैयाँ बराबरको निर्यात भएको छ ।

भेडाको ऊनबाट हातले बनाइने फेल्टका सामग्रीहरू अमेरिका र युरोपमा लोकप्रिय छन् । जसअन्तर्गत कुकुरका खेलौना, सजावटका सामानहरू पर्छन् । गत आव मात्रै यसको कुल निर्यात करिब ५ अर्ब १३ करोड रुपैयाँ पुगेको छ ।

नेपालमा उत्पादित विभिन्न फलफूलका जुसहरू निर्यातमा १०औँ स्थानमा रहेका छन् । गत आवमा मात्रै फलफुलको जुस करिब ४ अर्ब ७४ करोड रुपैयाँ बराबरको निर्यात भारतमा मात्रै भएको छ ।

मुलुकको वैदेशिक व्यापारमा निर्याततर्फ सुधार देखिए पनि समग्र आयातको तुलनामा ज्यादै कम छ । भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८२/८३ मा कुल निर्यात १३.८१ प्रतिशतले वृद्धि भई ३ खर्ब १५ अर्ब २९ करोड ४ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्ष ०८१/८२ मा निर्यातको आकार २ खर्ब ७७ अर्ब ३ करोड २ लाख रुपैयाँ थियो । तथ्यांकअनुसार नेपालले १ रुपैयाँ बराबरको वस्तु निर्यात गर्दा ६.६५ रुपैयाँ बराबरको वस्तु आयात गर्ने गरेको छ ।

Logo