बाल मन्दिर प्रकरण : सीआईबीको अनुसन्धानपछि आठ जनाविरुद्ध मुद्दा दायर

बाल मन्दिर प्रकरण : सीआईबीको अनुसन्धानपछि आठ जनाविरुद्ध मुद्दा दायर

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । नेपाल बाल संगठन (बाल मन्दिर) सँग सम्बन्धित जग्गा प्रकरणमा प्रहरीले आठ जनाविरुद्ध ठगी अभियोगमा मुद्दा दायर गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गरेको विस्तृत अनुसन्धानपछि प्राप्त प्रतिवेदनका आधारमा काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरिएको हो।

मुद्दा दायर गरिएका व्यक्तिहरूमा नेपाल बाल संगठनका तत्कालीन योजना तथा छात्रवृत्ति शाखा प्रमुख ५४ वर्षीया आशा श्रेष्ठ, तत्कालीन सचिव ५१ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ, तत्कालीन सभापति ६२ वर्षीय ओमकृष्ण कर्माचार्य, तत्कालीन सभापति युरी कुमारी राई, तत्कालीन कोषाध्यक्ष ७४ वर्षीय दीपकदास श्रेष्ठ, तत्कालीन कोषाध्यक्ष ६० वर्षीय प्रयागराज श्रेष्ठ, तत्कालीन सभापति ६३ वर्षीय भगवान शाक्य तथा तत्कालीन सल्लाहकार ५६ वर्षीय रामकृष्ण चित्रकार रहेका छन्।

प्रहरीले प्रतिवादीमध्ये आशा श्रेष्ठ, राजेन्द्रकुमार श्रेष्ठ र ओमकृष्ण कर्माचार्यलाई पक्राउ गरिसकेको छ। बाँकी पाँच जनालाई भने फरार प्रतिवादीका रूपमा अभियोगपत्रमा समावेश गरिएको छ।

सीआईबीका प्रवक्ता तथा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) अनुपम शमशेर जबराका अनुसार सबै आठ जनाविरुद्ध ठगी कसुरमा मुद्दा दर्ता गरिएको हो। अब अदालतले अभियोगमाथि प्रारम्भिक सुनुवाइ गर्दै मुद्दाको कानुनी प्रक्रिया अघि बढाउनेछ।

बाल मन्दिरसँग सम्बन्धित अनियमितताबारे छानबिन गर्न उच्च अदालतका पूर्वमुख्य न्यायाधीश हरिबाबु भट्टराईको अध्यक्षतामा गठन गरिएको आयोगले २०७७ सालमै आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको थियो। यद्यपि उक्त प्रतिवेदन लामो समय कार्यान्वयनमा नआएपछि गत चैतमा मन्त्रिपरिषद्ले त्यसलाई कार्यान्वयन गर्ने निर्णय गरेको थियो।

Logo