रास्वपा सांसद पौडेलमाथि कालोमसी प्रहार, घटनामा संलग्नको खोजी जारी

रास्वपा सांसद पौडेलमाथि कालोमसी प्रहार, घटनामा संलग्नको खोजी जारी

केन्द्रबिन्दु
24
Shares

रौतहट । रौतहट निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि सार्वजनिक कार्यक्रमबाट फर्किने क्रममा दुर्व्यवहार भएको छ। गढीमाई नगरपालिका–७ पर्सामा आयोजित ‘जनतासँग भेटघाट कार्यक्रम’ सकेर फर्कने क्रममा केही व्यक्तिले उनीमाथि कालोमसी छ्यापेका हुन्।

सांसद पौडेलका अनुसार बिहीबार राति करिब ८ बजेदेखि सवा ८ बजेको बीचमा कार्यक्रम सकिएपछि उनी फर्कने तयारीमा थिए। त्यहीक्रममा मास्क लगाएका दुई–तीन जनाको समूह पछाडिबाट आएर नजिकिएको र अँगालो हालेजस्तो गर्दै ढाडमा कालोमसी लगाएर भागेको उनको भनाइ छ।

उनले घटनामा संलग्न व्यक्तिहरूले रातो झण्डा र पर्चा बोकेको तथा आफूहरू ‘मधेश मुक्ति अभियान’सँग सम्बन्धित रहेको संकेत दिएको दाबी गरेका छन्। घटनापछि कार्यक्रममा सहभागी स्थानीय र समर्थकले उनीहरूलाई नियन्त्रणमा लिन खोजे पनि अँध्यारोको मौका छोपेर भाग्न सफल भएको पौडेलले बताए।

घटनाबारे तत्काल प्रहरीलाई जानकारी गराइएको र अनुसन्धान प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए। प्रहरीको प्रारम्भिक छानबिनबाट घटनामा संलग्न हुन सक्ने एक व्यक्तिको पहिचान खुलेको पौडेलको दाबी छ।

उनका अनुसार ‘फगु’ नामले चिनिने एक व्यक्तिको संलग्नता हुन सक्ने देखिएको छ।

Logo