वासिङ्टन । अमेरिकामा पखाला गराउने साइक्लोस्पोरा परजीवी संक्रमणको प्रकोप थप चार राज्यमा फैलिएको छ। यससँगै अमेरिकामा हालसम्मकै सबैभन्दा ठूलो साइक्लोस्पोरा प्रकोपको दायरा ९ राज्य पुगेको छ।
अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)का अनुसार सुरुमा टाको बेल रेस्टुरेन्टमा परोसिएको काटेर तयार पारिएको लेटुस (सलादको पात) सँग जोडिएको मानिएको प्रकोप यसअघि इन्डियाना, केन्टकी, मिशिगन, ओहायो र वेस्ट भर्जिनियामा सीमित थियो।
अहिले सीडीसी, खाद्य तथा औषधि प्रशासन (एफडीए) र सम्बन्धित राज्यका स्वास्थ्य निकायले संक्रमित लेटुसको आपूर्ति शृंखला पहिचान गर्नुका साथै बिरामीहरूले संक्रमणअघि सेवन गरेका खाद्यवस्तुबारे अनुसन्धान गरिरहेका छन्।
लेटुससँग सम्बन्धित संक्रमितको संख्या १ हजार ९४७ पुगेको छ। तीमध्ये कम्तीमा ९८ जना अस्पताल भर्ना भएका छन् भने हालसम्म कसैको मृत्यु भएको छैन। यद्यपि सबै संक्रमितको विवरण सरकारी अभिलेखमा नआउने भएकाले वास्तविक संख्या अझ बढी हुन सक्ने सीडीसीले जनाएको छ।
एफडीएका अनुसार प्रकोपको सम्भावित स्रोत टेलर फार्म्सबाट आएको लेटुस नै रहेको अनुसन्धानको निष्कर्ष छ। कम्पनीले गत साता मध्य मेक्सिकोमा उत्पादन गरिएको आइसबर्ग लेटुस फिर्ता बोलाएको थियो। यसैबीच एफडीएले ७२ जनामा देखिएको साइक्लोस्पोरा संक्रमणको अर्को छुट्टै प्रकोपको पनि अनुसन्धान गरिरहेको छ। त्यससँग सम्बन्धित खाद्य उत्पादन भने अझै पहिचान हुन सकेको छैन।
सीडीसीका अनुसार मे १ यता अमेरिकामा प्रयोगशालाबाट पुष्टि भएका साइक्लोस्पोरा संक्रमितको संख्या ४ हजार १०० नाघिसकेको छ भने ४१ राज्यमा थप ७ हजार ४०० भन्दा बढी सम्भावित संक्रमितको अनुसन्धान भइरहेको छ। अनुसन्धान जारी रहेकाले अन्य ब्रान्ड, रेस्टुरेन्ट, खुद्रा विक्रेता वा वितरण शृंखला पनि प्रकोपसँग जोडिन सक्ने अधिकारीहरूले जनाएका छन्।
साइक्लोस्पोरा मानव मलबाट दूषित भएको खाना वा दूषित पानीले सिँचाइ तथा धोइएका तरकारीमार्फत सर्ने सूक्ष्म परजीवी हो। शरीरमा प्रवेश गरेपछि यसले बारम्बार र कहिलेकाहीँ अत्यधिक तीव्र रूपमा दिसा लाग्ने लगायतका आन्द्रासम्बन्धी समस्या निम्त्याउने सीडीसीले जनाएको छ। एपीबाट




















