नेकपाका खगराज भट्ट सुदूरपश्चिमको मुख्यमन्त्री बन्दै

नेकपाका खगराज भट्ट सुदूरपश्चिमको मुख्यमन्त्री बन्दै

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र नेकपा एमालेबिच सुदूरपश्चिम प्रदेशमा सत्ता सहकार्य गर्ने सहमति भएसँगै नेपाली कांग्रेस नेतृत्वको सरकार प्रतिपक्ष कित्तामा पुग्ने निश्चित भएको छ।

दुई दलबिच सहमति भएअनुसार अब प्रदेश सरकारको नेतृत्व नेकपाले गर्नेछ। यसले नेकपा संसदीय दलका नेता खगराज भट्ट सुदूरपश्चिमका आगामी मुख्यमन्त्री बन्ने सम्भावना बलियो बनेको छ।

सत्ता साझेदार एमालेबाट सरकारमा सहभागी मन्त्रीहरूलाई मुख्यमन्त्रीले बर्खास्त गरेपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। त्यसयता कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नेतृत्वको सरकार अल्पमतमा छ।

चालु आर्थिक वर्ष २०८३/०८४ को बजेटका विषयमा सत्ता साझेदार एमालेसँग विवाद चर्किएपछि मन्त्री बर्खास्त भएका थिए। त्यसपछि सरकार अल्पमतमा परेकाले बजेटसमेत पारित हुन सकेन।

बजेट पारित गर्न र सरकारलाई निरन्तरता दिन कांग्रेसले नेकपाको साथ खोजे पनि नेकपा–एमालेबिच सत्ता सहकार्यको सहमति भएपछि आफू नेतृत्वको सरकारलाई निरन्तरता दिने कांग्रेसको प्रयास विफल भएको छ।

बजेट पारित नहुँदा उत्पन्न भएको संवैधानिक जटिलताबिच नेकपाले मुख्यमन्त्री शाहलाई मार्ग प्रशस्त गर्न आग्रह गरिसकेको छ। अहिले मुख्यमन्त्री शाहसँग राजीनामा दिने वा प्रदेश सभाबाट विश्वासको मत लिने दुई विकल्प बाँकी छन्।

साउन ३२ गते एमालेले समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्रीले एक महिनाभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ। तर नेकपा र एमालेको नयाँ सत्ता समीकरण बनेपछि शाहले बहुमत जुटाउने सम्भावना अत्यन्त न्यून देखिएको छ।

दुवै दल अहिले मुख्यमन्त्री शाहको निर्णयको प्रतीक्षामा छन्। सहमति कार्यान्वयन गरेर नयाँ सरकार गठन गर्ने तयारी भइरहेको नेताहरू बताउँछन्।

‘हामीबिच सहकार्य गर्ने सहमति भइसकेको छ। अब मुख्यमन्त्रीले मार्ग प्रशस्त गरेर प्रदेशलाई निकास दिनुपर्छ,’ एमालेका एक सांसद भन्छन्, ‘धेरै ढिला गर्नुहुँदैन। नयाँ सहमतिअनुसार अघि बढ्नुको विकल्प छैन।’

सुदूरपश्चिम प्रदेश सभामा नेकपाका २२ सांसद (सभामुख र निलम्बित सदस्यसहित) छन् भने एमालेका ११ सांसद छन्। ५३ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि २७ सांसदको समर्थन आवश्यक पर्छ। अहिले सरकार गठनका नेकपा–एमाले गठबन्धनसँग सहज बहुमत देखिन्छ।

प्रदेश सभामा नेपाली कांग्रेसका १८ र राप्रपाका एक सांसद छन्। सत्ता सहकार्यसम्बन्धी सहमतिअनुसार प्रदेश सरकारको नेतृत्व नेकपाले गर्नेछ।

नेकपाको संसदीय दलको नेतृत्व खगराज भट्टले गरिरहेका छन्। पार्टीभित्र हालसम्म मुख्यमन्त्रीका लागि उनको विकल्पमा कसैले औपचारिक दाबी नगरेकाले उनी नै सरकारको नेतृत्व गर्ने लगभग निश्चितजस्तै देखिएको नेकपाका नेताहरू बताउँछन्।

दलका नेता भट्टसहित नेकपा र एमालेका केही सांसद यतिबेला संघीय राजधानी काठमाडौँमा छन्। उनीहरुले नयाँ सरकार गठन र सत्ता बाँडफाँटबारे शीर्ष तहमा छलफल गरिरहेका छन्।

विगतमा तत्कालीन माओवादी केन्द्र रहँदा संसदीय दलको नेतृत्वलाई लिएर विवाद देखिए पनि अहिले भने नेकपाभित्र खगराज भट्टको नाममा लगभग सहमति जुटिसकेको नेताहरु बताउँछन्।

Logo