काठमाडौं । संघीय संसद्अन्तर्गत तीनवटा संसदीय समितिको बैठक बस्दै छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।
शिक्षा समितिको बैठकमा ‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५’को कार्यान्वयनको अवस्थाका बारेमा छलफल हुनेछ । २ बजे बस्ने बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री, शिक्षा तथा खेलकुदमन्त्री, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव, शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव र चिकित्सा शिक्षा आयोगका उपाध्यक्षलाई बोलाइएको छ ।
विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा ‘समितिको आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्ययोजना’ सम्बन्धमा विस्तृत छलफल हुनेछ । समितिको बैठक बिहान ११ बजे बस्नेछ ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा ‘केन्द्रीय इतिहास विभाग, त्रिभुवन विश्वविद्यालय कीर्तिपुरका पदाधिकारीसँग’ छलफल गर्ने कार्यसूची छ । बैठक बिहान साढे ११ बजे बस्नेछ ।




















