काठमाडौं। नेपाली पात्रोले आफ्नो मिडिया नीति संशोधन गर्दै आगामी भदौ १ गतेदेखि नयाँ व्यवस्था लागू गर्ने भएको छ। कम्पनीले आबद्ध सबै मिडिया साझेदारलाई संशोधित नीतिअनुसार सहमति पत्रमा हस्ताक्षर गरी साउन ३० गतेभित्र बुझाउन आग्रह गरेको छ।
नेपाली पात्रोले मिडिया साझेदारलाई पठाएको आधिकारिक सूचनाअनुसार संशोधित मिडिया नीति हालसम्म सार्वजनिक नगरिएको भए पनि सम्बन्धित सञ्चारमाध्यमलाई समयमै जानकारी गराउने उद्देश्यले सूचना जारी गरिएको जनाएको छ।
नयाँ व्यवस्थाअनुसार नेपाली पात्रोसँग आबद्ध सबै मिडिया संस्थाले संलग्न सहमति पत्र अनिवार्यरूपमा अध्ययन गरी हस्ताक्षरसहित तोकिएको समयभित्र पठाउनुपर्नेछ।
कम्पनीले साउन ३० गतेभित्र हस्ताक्षरित सहमति पत्र प्राप्त नभए सम्बन्धित सञ्चारमाध्यमले संशोधित मिडिया नीति स्वीकार नगरेको मानिने जनाएको छ। यस्तो अवस्थामा भदौ १ गतेदेखि सम्बन्धित समाचार वेबसाइटलाई नेपाली पात्रो प्लेटफर्मबाट निष्क्रिय गरिनेछ। साथै, ती वेबसाइटका समाचारको प्रकाशन तथा वितरण पनि स्वतः बन्द हुने उल्लेख गरिएको छ।
नेपाली पात्रोले यस सम्बन्धमा आफ्नो निर्णय अन्तिम हुने स्पष्ट गरेको छ। कम्पनीका अनुसार संशोधित नीतिको उद्देश्य सबै मिडिया साझेदारलाई एउटै नीति, मापदण्ड र सञ्चालन प्रक्रियाअन्तर्गत पारदर्शी तथा व्यवस्थितरूपमा आबद्ध गराउनु हो।
सेवामा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले साउन ३० गतेभित्र अनिवार्यरूपमा हस्ताक्षरित सहमति पत्र बुझाउन पनि कम्पनीले सबै साझेदार सञ्चारमाध्यमसँग अनुरोध गरेको छ।




















