कैलाली । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा चालू शैक्षिक सत्रदेखि एमबीबीएस कार्यक्रम र ३०० शय्याको अस्पताल तत्काल सञ्चालनमा ल्याउन सरकारसँग माग गरेका छन्।
यी दुवै काम समयमै अघि नबढे आफू पनि अनशनमा सहभागी हुने उनले बताएका छन्। मेयर हमालले सुदूरपश्चिमका नागरिकले लामो समयदेखि गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षाको पहुँचबाट वञ्चित रहनुपरेको उल्लेख गरे।
अब पनि सरकारले निर्णयमा ढिलाइ गरे त्यसको प्रतिरोधमा उत्रिन आफू तयार रहेको उनको भनाइ थियो।
फेसबुक लाइभमार्फत उनले गेटामा यही शैक्षिक सत्रदेखि एमबीबीएसको पठनपाठन सुरु हुनुपर्ने र ३०० शय्याको अस्पताल सञ्चालनमा आउनैपर्ने बताए। सरकारले यी माग पूरा नगरे आफू अनशनमा बस्ने मात्र होइन, आवश्यक परे आन्दोलनको नेतृत्वसमेत गर्ने चेतावनी दिए।
मेयर हमालले सुदूरपश्चिम प्रदेशमा हालसम्म सरकारी वा निजी कुनै पनि मेडिकल कलेज सञ्चालनमा आउन नसकेको भन्दै यसले विद्यार्थी र सर्वसाधारण दुवैलाई ठूलो समस्या परेको बताए।
‘यसै शैक्षिक सत्रदेखि गेटामा एमबीबीएस अध्ययन सुरू हुनुपर्छ । साथै तीन सय शय्याको अस्पताल सञ्चालनमा आउनैपर्छ । यदि सरकारले यी काम पूरा गर्न सकेन भने म पनि अनसन बस्न तयार छु । भविष्यमा त्यस आन्दोलनको नेतृत्व गर्न पनि तयार छु’ मेयर हमालले सोमबार फेसबुक लाइभमा भनेका छन् ।
यता, गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सञ्चालनलाई लिएर वरिष्ठ चिकित्सक डा. गोविन्द केसी पनि गत बिहीबारदेखि अनशनमा छन्। उनले विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रारको हालै गरिएको नियुक्ति प्रक्रिया पारदर्शी र विधिसम्मत नभएको भन्दै ती नियुक्ति खारेज गर्नुपर्ने माग राखेका छन्।




















