सीजी मोटर्समार्फत भिडाको नेपाल प्रवेश, दुई नयाँ विद्युतीय सवारी सार्वजनिक

सीजी मोटर्समार्फत भिडाको नेपाल प्रवेश, दुई नयाँ विद्युतीय सवारी सार्वजनिक

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । हिरो मोटोकर्पको विद्युतीय दुईपांग्रे सवारी ब्रान्ड भिडाले नेपालबाट आफ्नो अन्तर्राष्ट्रिय बजार विस्तारको औपचारिक सुरुआत गरेको छ। कम्पनीले चौधरी समूहअन्तर्गतको सीजी मोटर्ससँगको आधिकारिक वितरण साझेदारीमार्फत नेपाली बजारमा प्रवेश गरेको घोषणा गरेको हो।

नेपालमा कम्पनीले VIDA VX2 स्कुटर शृंखला र युवा पुस्तालाई लक्षित DIRT.E K3 विद्युतीय अफ–रोड मोटरसाइकल सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यी दुवै उत्पादन नेपाली उपभोक्ताको फरक–फरक आवश्यकता, जीवनशैली र प्रयोगलाई ध्यानमा राखेर विकास गरिएका हुन्।

हिरो मोटोकर्पको इमर्जिङ मोबिलिटी बिजनेस युनिटकी प्रमुख व्यवसाय अधिकृत कौसल्या नन्दकुमारले नेपालबाट भिडाको अन्तर्राष्ट्रिय यात्रा सुरु हुनु कम्पनीका लागि महत्वपूर्ण उपलब्धि भएको बताइन्। विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणका कारण नेपाललाई रणनीतिक बजारका रूपमा छनोट गरिएको उनले उल्लेख गरिन्।

नेपालमा VIDA VX2 दुई संस्करणमा उपलब्ध हुनेछ, जसमा VX2 Plus र VX2 Go रहेका छन्। VX2 Plus मा ४.४ किलोवाट–घण्टाको दुईवटा निकाल्न मिल्ने ब्याट्री जडान गरिएको छ। कम्पनीका अनुसार यसले एकपटक पूर्ण चार्ज गर्दा करिब १४० किलोमिटरसम्म यात्रा गर्न सक्छ।

चौधरी समूहका प्रबन्ध निर्देशक निर्वाण चौधरीले भिडाको आगमनले नेपालमा वातावरणमैत्री र दिगो यातायात प्रवर्द्धनमा नयाँ योगदान पुग्ने विश्वास व्यक्त गरे। आधुनिक प्रविधियुक्त विद्युतीय दुईपांग्रे सवारीले दैनिक यात्रादेखि नयाँ पुस्ताका सवारी प्रयोगकर्तासम्मलाई सहज, सुरक्षित र नवीन अनुभव प्रदान गर्ने उनको भनाइ छ।

यसको अधिकतम गति प्रतिघण्टा ९० किलोमिटर रहेको छ भने शून्यदेखि ४० किलोमिटर प्रतिघण्टाको गति लिन करिब ३.१ सेकेन्ड लाग्छ। द्रुत चार्जिङ प्रविधिमार्फत ब्याट्रीलाई शून्यदेखि ८० प्रतिशतसम्म चार्ज गर्न करिब ६५ मिनेट लाग्ने कम्पनीले जनाएको छ।

त्यस्तै, VX2 Go मा २.२ किलोवाट–घण्टाको निकाल्न मिल्ने ब्याट्री उपलब्ध छ, यसले करिब ७५ किलोमिटरको वास्तविक यात्रा दूरी प्रदान गर्ने कम्पनीको दाबी छ।

यसको अधिकतम गति प्रतिघण्टा ७० किलोमिटर रहेको छ भने शून्यदेखि ४० किलोमिटर प्रतिघण्टाको गति लिन करिब ४.२ सेकेन्ड लाग्छ। यो संस्करणमा पनि ६५ मिनेटमै ८० प्रतिशतसम्म द्रुत चार्ज गर्न सकिने सुविधा रहेको छ।

दुवै स्कुटरमा घरमै सामान्य ५ एम्पियरको बिजुलीको सकेटबाट चार्ज गर्न सकिने निकाल्न मिल्ने ब्याट्री, My VIDA मोबाइल एप, मार्गनिर्देशन (नेभिगेसन), जियो–फेन्सिङ, फोन तथा सन्देश सूचना र OTA (Over-the-Air) सफ्टवेयर अद्यावधिकजस्ता आधुनिक सुविधा समावेश गरिएको कम्पनीले जनाएको छ।

कम्पनीले सार्वजनिक गरेको DIRT.E K3 विद्युतीय अफ–रोड मोटरसाइकल विशेषगरी युवा र किशोर उमेर समूहलाई लक्षित गरी विकास गरिएको हो। यसमा प्रयोगकर्ताको उमेर र उचाइअनुसार सानो, मध्यम र ठूलो गरी तीनवटा आकारमा मिलाउन सकिने विशेषता रहेको छ।

यस मोटरसाइकलमा अभिभावकले मोबाइल एपमार्फत सवारीको गति नियन्त्रण गर्न सक्ने सुविधा पनि दिइएको छ। पहिलो मोडमा प्रतिघण्टा ८ देखि ९ किलोमिटर, दोस्रोमा १७ देखि १८ किलोमिटर र तेस्रो मोडमा २३ देखि २४ किलोमिटरसम्म गति सीमित गर्न सकिन्छ।

३५० वाट क्षमताको मोटर र ३६० वाट–घण्टाको निकाल्न मिल्ने ब्याट्री रहेको DIRT.E K3 ले प्रयोगको प्रकृतिअनुसार करिब तीन घण्टासम्म सञ्चालन गर्न सक्ने कम्पनीले जनाएको छ। २० प्रतिशतबाट ८० प्रतिशतसम्म ब्याट्री चार्ज गर्न करिब दुई घण्टा लाग्ने उल्लेख गरिएको छ। यस मोडलले Red Dot Design Award 2025 र CES Innovation Award 2026 जस्ता अन्तर्राष्ट्रिय सम्मानसमेत प्राप्त गरिसकेको छ।

हिरो मोटोकर्प सन् २०१४ देखि नेपाली बजारमा सक्रिय रहँदै आएको छ। कम्पनीका अनुसार VIDA विद्युतीय सवारी शृंखलाको आगमनसँगै नेपाली उपभोक्ताले अब स्मार्ट, वातावरणमैत्री र भविष्यमुखी प्रविधियुक्त विद्युतीय दुईपांग्रे सवारीको नयाँ विकल्प पाउनेछन्।

Logo