सरकार र डा. केसीबीच के-के बुँदामा भयो सहमति ?

सरकार र डा. केसीबीच के-के बुँदामा भयो सहमति ?

केन्द्रबिन्दु
0
Shares

धनगढी । डा. गोविन्द केसीले अनशन अन्त्य गरेका छन्। आफ्ना माग सम्बोधन गर्न सरकारसँग सहमति जुटेपछि उनले शनिबार अनशन तोडेका हुन्।

बिहीबारदेखि धनगढीमा अनशन बसेका डा. केसीसँग वार्ता गर्न सरकारले पठाएको टोली शनिबार धनगढी पुगेको थियो। सरकारी टोलीसँग भएको छलफलपछि विभिन्न विषयमा सहमति बनेसँगै डा. केसीले अनशन स्थगित गरेका हुन्।

सरकार र डा. केसीबीच भएको सहमतिअनुसार शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, गेटामा ३०० शय्याको अस्पताल सञ्चालनका लागि तत्काल आवश्यक प्रक्रिया अघि बढाइने भएको छ।

यस्तै, विश्वविद्यालयको सभाबाट पारित निर्णयअनुसार एमबीबीएसलगायत शैक्षिक कार्यक्रम सञ्चालनका लागि आवश्यक फ्याकल्टी तथा जनशक्ति नियुक्ति, पाठ्यक्रम स्वीकृति र अन्य शैक्षिक तयारी शीघ्र पूरा गर्ने सहमति भएको छ।

३०० शय्याको शिक्षण अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्ति व्यवस्थापन, उपकरण खरिद तथा अन्य भौतिक र प्रशासनिक तयारी विश्वविद्यालयले तत्काल अघि बढाउने सहमतिमा उल्लेख छ।

विश्वविद्यालयका पदाधिकारीको योग्यता, नियुक्तिलगायतका विषयमा आवश्यक संशोधनका लागि संघीय संसद्को चालु अधिवेशनमै प्रक्रिया अघि बढाउन नेपाल सरकारसमक्ष प्रस्ताव पेस गर्ने सहमति पनि भएको छ। यसका लागि विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकमा शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२ लाई समेट्ने विषय अघि बढाइनेछ।

त्यसैगरी, राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा ४७ मा रहेको चिकित्सा शिक्षण संस्थालाई क्रमशः गैरनाफामूलक तथा सेवामूलक संस्थाका रूपमा सञ्चालन गर्ने व्यवस्थाको कार्यान्वयनबारे अध्ययन गर्न उच्चस्तरीय कार्यदल गठन गर्ने सहमति भएको छ।

शिक्षा तथा खेलकुद मन्त्रालयले गठन गर्ने उक्त कार्यदलले अध्ययन गरी ६ महिनाभित्र रायसहितको प्रतिवेदन पेस गर्ने व्यवस्था मिलाउन नेपाल सरकारसमक्ष प्रस्ताव पेस गर्ने सहमतिमा उल्लेख छ।

Logo