काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागमा सरदर स्थानको आसपासमा तथा नेपालको पश्चिम भू-भागमा सरदर भन्दा उत्तरतर्फ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका धेरै स्थानमा, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका केही स्थान तथा कोशी प्रदेशको तराई भू-भाग र मधेश प्रदेशका थोरै स्थान मेघगर्जन तथा चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
आज राति बागमती , गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थान, कोशी र सुदुरपश्चिम प्रदेशको तराई तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन तथा चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
भारी वर्षापछि ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यस बाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।




















