काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले गैरआवासीय नेपाली (एनआरएन)को ज्ञान, सीप, प्रविधि र पुँजीलाई स्वदेशको विकाससँग जोड्ने गरी सरकारले नीतिगत, कानुनी तथा व्यवहारिक सुधारलाई प्राथमिकता दिएको बताएका छन् ।
उनले विदेशमा रहेका नेपालीको अनुभव र लगानीलाई राष्ट्र निर्माणमा उपयोग गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै सूचना प्रविधि, कृत्रिम बौद्धिकता (एआई), डाटा सेन्टर तथा डिजिटल पूर्वाधारजस्ता क्षेत्रमा लगानीका लागि नेपाल तयार रहेको स्पष्ट पारे ।
आज सूचना र तथा सञ्चार मन्त्रालयमा गैरआवासीय नेपाली संघ (एनआरएनए)का पदाधिकारीसँग भएको भेटवार्तामा सञ्चारमन्त्री डा. तिमिल्सिनाले सरकारले देशमा लगानीमैत्री वातावरण निर्माण गर्न आवश्यक सुधारका काम अघि बढाइरहेको बताए । छलफलमा एनआरएनएका उपाध्यक्ष रोजिना प्रधान राई, उपाध्यक्ष ज्ञानेन्द्र रेग्मी, उपमहासचिव कृष्ण पोखरेललगायतको सहभागिता थियो ।
भेटका क्रममा एनआरएनएका प्रतिनिधिहरुले सन् २०२७ को जनवरीमा काठमाडौँमा आयोजना हुने चौथो ‘एनआरएनए ग्लोबल नलेज कन्भेन्सन–२०२७’ को तयारीबारे जानकारी गराएका थिए । उक्त सम्मेलनले विश्वभर रहेका नेपालीको ज्ञान, सीप, अनुभव र नवप्रवर्तनलाई नेपालको विकाससँग जोड्ने उद्देश्य राखेको एनआरएनले जनाएको छ ।
छलफलमा सञ्चारमन्त्री डा तिमिल्सिनाले सरकारले विभिन्न स्थानमा आधुनिक डाटा सेन्टर निर्माणको प्रक्रिया अघि बढाइरहेको बताउँदै ती परियोजनामा स्वदेशी तथा विदेशी लगानी दुवैको आवश्यकता रहेको बताए । एआई, डाटा सेन्टर, डिजिटल पूर्वाधार र सूचना प्रविधिसँग सम्बन्धित क्षेत्रमा लगानी गर्न उपयुक्त वातावरण बनेको उल्लेख गर्दै उनले लगानीकर्ताका लागि थप सहज वातावरण तयार गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
उनले विदेशमा बसोबास गर्ने नेपालीले स्वदेशप्रति गहिरो माया राख्ने र देशका लागि केही गर्न चाहने भावना सकारात्मक रहेको उल्लेख गरे । त्यस सम्भावनालाई नीतिगत रूपमा उपयोग गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले नेपालमा सीप, प्रविधि र पुँजी भित्र्याएर राष्ट्र निर्माणमा योगदान गर्न गैरआवासीय नेपालीलाई आग्रह गरे ।
अहिले सरकारले सुशासन र नागरिक सेवा प्रवाहलाई पहिलो प्राथमिकतामा राखेर राजनीतिक संस्कारमा समेत परिवर्तन ल्याउने उद्देश्यका साथ काम गरिरहेको उल्लेख गर्दै सञ्चारमन्त्री डा तिमिल्सिनाले सुधारका प्रयासमा विभिन्न समस्या तथा व्यवधान आए पनि निरन्तर अघि बढ्ने स्पष्ट पारे ।
“अहिले जहाँ हेरे पनि सुधार गर्नुपर्ने मात्रै देखिन्छ । हरेक ठाउँमा समस्या र चुनौतीका चाङ छन् । नियत सही हुँदा पनि काम गर्ने क्रममा व्यवधान आउन सक्छन् । अहिले के गर्नेभन्दा पनि कसरी गर्ने भन्ने विषय बढी महत्वपूर्ण बनेको छ,” उनले भने । सरकारले प्रक्रियामुखी कार्यशैलीभन्दा नतिजामुखी कार्यसम्पादनलाई प्राथमिकता दिएको उल्लेख गर्दै उनले नागरिकलाई प्रभावकारी सेवा प्रवाहलाई केन्द्रमा राखेर सरकार अघि बढिरहेको बताए । नीति, योजना र बजेट कार्यान्वयनमा व्यावहारिक सुधार गर्दै सुशासन र डिजिटल प्रणालीको विस्तारमा सरकार केन्द्रित रहेको सञ्चारमन्त्री तिमिल्सिनाको भनाई थियो ।




















