जनकपुर ,२६,कात्तिक
सरकारले औपचारिक घोषणा नगरे पनि दुई नम्बर प्रदेश केन्द्रका रूपमा अघि बढ्ने जमर्को गरेको धार्मिक नगरी जनकपुरधामको चुनावी दौड रोमाञ्चक देखिएको छ । प्रतिनिधि तथा प्रदेशसभाको दोस्रो चरण अन्तर्गत २१ मंसिरमा हुने निर्वाचनमा जनकपुर ३ मा कसले बाजी मार्ला त्यो अहिल्यै भन्न नसकिए पनि कांग्रेस र राजपाका प्रभावशाली नेता चुनावी मैदानमा उत्रिए पछि यहाँको निर्वाचनको माहोलमा रोचक दृश्य देखिएका छन् । कांग्रेसका तर्फबाट विमलेन्द्र निधि र राजपाका तर्फबाट राजेन्द्र महतो जनकपुर उपमहानगर समेतको धनुषा ३ बाट प्रतिनिधिसभा उम्मेदवार बनेका छन् । धनुषा ३ को चुनावी माहोललाई जनकपुरका एक जना नागरिक अगुवा राजु चौधरी चुनावी चमकधमकको संज्ञा दिन्छन् । चौधरी भन्छन्, ‘अहिले सबैले आफू यति बलियो हुँ भनेर देखाउन लागिपरेका छन् ।’
दुई नम्बर प्रदेशकै मुख्य स्थान जनकपुरबाट चुनाव जित्ने नेताको महत्व प्रदेश देखि केन्द्रसम्म बढ्ने भएकाले यहाँको चुनाव नतिजाप्रति सबैको चासो रहेको चौधरीको बुझाइ छ । सरकारले औपचारिक रूपमा प्रदेशहरूको राजधानी घोषणा नगरे पनि दुई नम्बर प्रदेशको राजधानी जनकपुरलाई नै बनाउन केही कार्यालय स्थापना गरेपछि जनकपुरको निर्वाचनका लागि मधेसी दल सहित प्रमुख दलले आफ्नो शक्ति अन्य क्षेत्रका तुलनामा बढी नै खर्चेको जानकारहरू बताउँछन् । निधिले पछिल्लो समय जातिवादलाई बढावा दिएको र ब्राह्मण समुदायका मतदातासँग राम्रो तालमेल गर्न नसक्दा उनी प्रति नकारात्मक मनोभाव देखिन्छ । २६ हजार ब्राह्मण मतदाता रहेको यो क्षेत्रमा निधिका लागि सबैभन्दा बढी गाह्रो यिनै मतलाई विश्वासमा लिनु रहेको जानकारहरू बताउँछन् । धनुषा ३ मा ९७ हजार मतदाता छन् ।
यता स्थानीय तह निर्वाचनमा जनकपुर उपमहानगरको मेयर सहित दुई तिहाइ स्थानमा राजपा अत्याधिक मत सहित विजयी भएको थियो । मधेस आन्दोलनको जगमा राजनीति गरिरहेको दाबी गर्ने राजपा नेता महतोले निधिसँगको प्रतिस्पर्धाको आधार पनि सोही विषयलाई बनाएका छन् । पछिल्लो समय निधिसँग यो क्षेत्रका जनताको गुनासो बढ्दै गएको मौकाको फाइदा उठाउन महतो कम्मर कसेर लागेका छन् । यसको संकेत उनले निर्वाचन प्रचार प्रसार सुरु गर्दा नै दिए । महतोले निधिको गृहनगर जटही पुगेर सहिद दुर्गानन्द झाको सालिकमा माल्यार्पण गरी आफ्नो चुनाव प्रचार अभियान सुरु गरेका थिए ।
अन्नपूर्णबाट





























प्रतिक्रिया