दमौली ,२३, कात्तिक
म्याग्दे गाउँपालिका बाख्रेकी सीतामाया विकलाई चुनाव हुन्छ भन्ने थाहा छ तर कति जनालाई मत दिने थाहा छैन। ‘पैले जस्तै होला नि,’ तनहुँ क्षेत्र नम्बर २ की मतदाता विकले भनिन्,‘ पैले त ठूलो कागज थियो, अैले पनि त्यस्तै होला ।’ उनले स्थानीय तहको चुनावमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्यहरूलाई मत दिएको सम्झिइन्। यसपटक दुई जना नेता छान्ने भन्ने सुने पनि मतपत्र कस्तो हुन्छ भनेर नमूना कसैले पनि उनलाई देखाएका छैनन्। ‘पैले त सिकाउन आएका थिए,’ उनले भनिन् , अहिले त रेडियोमा पनि फुकेको छैन। सिकाउन पनि कोही आएका छैनन्।’ सोही ठाउँका सेते विकले पनि मतदान कसरी गर्ने भन्ने प्रष्ट बुझेका छैनन्। ‘चुनाव हुन्छ भन्ने सुनेको छु,’ उनले भने, ,‘भोट माग्न आउलान्, अनि सिकाउलान् नि।’ कति सांसद कसरी चुनिन्छन् आफूलाई थाहा नभएको उनले बताए । विगतका संविधानसभा चुनावमा दुई ठाउँमा मत दिएका सेतेलाई मत हाल्न कसैले सिकाएका पनि छैनन्।
यी दुई प्रतिनिधि घटनामात्र हुन्। मतदाता अधिकार मञ्च तनहुँका अध्यक्ष प्रकाश पन्थले चुनावका लागि दल प्रचारमा हिँडिसक्दा पनि मतदाताले आधारभूत जानकारी पाउन नसक्नु बिडम्बना भएको बताए । ‘समयमै मतदातालाई पर्याप्त जानकारी दिन जरुरी छ,’ उनले भने, ‘सदरमुकाम र आसपासमा मात्र होइन, ग्रामीण क्षेत्रमा पनि पहुँच पुर्याउनु पर्यो।ु
जिल्ला निर्वाचन कार्यालय पनि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न नसकिएको स्वीकार्छ। कार्यालयका प्रमुख बाबुराम घिमिरे पर्याप्त निर्वाचन सामग्री नआएका कारण मतदाता शिक्षा स्वयंसेवकलाई तालिम दिन पनि नसकिएको बताउँछन्। ‘समयमै निर्वाचन सामग्री नआउँदा कार्यक्रम प्रभावित भएको छ,’ उनले भने,‘अब केही दिनमा सामग्री आए पछि तालिम चलाउँछौं।’
अन्नपूर्णबाट





























प्रतिक्रिया