नेपालको प्रस्तावित क्षेत्रफल अब १ लाख ४८ हजार ६.६७ वर्गकिलोमिटर

नेपालको प्रस्तावित क्षेत्रफल अब १ लाख ४८ हजार ६.६७ वर्गकिलोमिटर

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नापी विभागले नेपालको कुल क्षेत्रफल अब १ लाख ४८ हजार ६ दशमलव ६७ वर्गकिलोमिटर हुने प्रस्ताव गरेको छ । विभागले भारतद्वारा अतिक्रमित लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको भूमि समेटेर तयार पारिएको क्षेत्रफलको प्रस्ताव भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पठाएको छ ।

नेपालको नयाँ राजनैतिक तथा प्रशासनिक नक्सा नापी विभाग स्रोतका अनुसार प्रोजेक्सन सिस्टमबाट मुलुकको क्षेत्रफल पुनर्मापन गर्दा ८ सय २५ दशमलव ६७ वर्गकिलोमिटर बढी आएको हो । विभागले टिप्पणी उठाएर मन्त्रालयमा पठाएको पत्रमा अतिक्रमित भूमिको छुट्टै क्षेत्रफल कति हो भन्नेबारे भने उल्लेख गरिएको छैन । ‘नेपालको क्षेत्रफल पहिले नै त्रुटिपूर्ण रहेछ, पुनर्मापन गर्दा समग्रमा बढी आयो,’ स्रोतले भन्यो, ‘यसको मतलब बढेको ८ सय २५.६७ वर्गकिलोमिटर भूमि भारतले अतिक्रमण गरेको हो भन्ने अर्थ लाग्दैन ।’

लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा ३ सय ३५ वर्गकिलोमिटर भन्दा धेरै छ । भारतबाट अतिक्रमणमा परेको भूमिबाहेक नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्गकिलोमिटर थियो । नेपाल सरकारले पहिलोपटक २०३२ सालमा नक्सा जारी गर्दा यो क्षेत्रफल पनि सँगै सार्वजनिक गरिएको थियो ।

सरकारले गत जेठ ७ गते नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गर्दा अबको क्षेत्रफल कति हुन्छ भनेर उल्लेख गरेको थिएन । त्यतिखेरै नापी विभागलाई पत्र लेखेर नयाँ क्षेत्रफलको जानकारी जतिसक्दो छिटो उपलब्ध गराउन निर्देशन दिइएको थियो । विभागले केही दिन अघि मात्रै सबै नापनक्साको प्राविधिक काम सकेर प्रस्तावित क्षेत्रफल मन्त्रालयमा पठाएको हो ।

विभागले पठाएको क्षेत्रफलबारे मन्त्रालयका सचिव टेकनारायण पाण्डेको नेतृत्वमा रहेको नापनक्सा समितिले छलफल गर्नेछ । त्यसपछि मन्त्रालयले फाइल मन्त्रिपरिषद् बैठकमा पेस गर्नेछ । ‘अहिले विभागबाट थप क्षेत्रफलसहितको नेपालको नक्साबारे टिप्पणी उठेर आएको छ, अब एक, दुई दिनमा नाप नक्सा समितिको बैठक बसेर मन्त्रिपरिषदमा पठाउने निर्णय गर्छ,’ मन्त्रालय स्रोतले भन्यो, ‘आधिकारिक क्षेत्रफल मन्त्रिपरिषद्ले पारित गरेपछि मात्रै सार्वजनिक हुनेछ ।’कान्तिपुरबाट

Logo