विराटनगर, २२ कात्तिक
नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री लालबाबु पण्डितले जनताको भावनालाई कदर गर्दै संविधानलाई समृद्ध बनाउने उद्घोष गरेका छन् । प्रेस चौतारी र प्रेस सेन्टर, मोरङद्वारा मंगलबार विराटनगरमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा उनले सामाजिक सद्भावको विकासका लागि आफूले कुनै कसर बाँकी नराख्ने स्पष्ट पारे । संयुक्त वाम गठबन्धनका तर्फबाट मोरङको क्षेत्र नं ६ को प्रतिनिधि सभाको उम्मेदवार समेत रहेका उनले बृहत्तर विराटनगरको विकासको अवधारणा अन्तर्गत प्रदेश नं १ को प्रादेशिक राजधानी विराटनगर बनाउन दृढ संकल्पित रहेको उल्लेख गरे ।
विराटनगरलाई बाढीबाट जोगाउने भन्दै उनले यस क्षेत्रको नदीमा तटबन्ध निर्माण गराउने, विराटनगरमा ‘भ्यू टावर’, सडक निर्माणका साथै अव्यवस्थित बसोबास रहेकाले जनता आवास कार्यक्रमतर्फ पनि केन्द्रित हुने जानकारी गराए । उनले विराटनगरलाई ‘शैक्षिक हब’ को रुपमा विकास गरी क्यान्सर र हृदयरोग अस्पताल स्थापनाका लागि पहल गर्ने बताएका छन्। सोही क्षेत्र अन्तर्गत प्रदेश ‘क’ को वाम गठबन्धनका उम्मेदवार जीवन आचार्यले आफू निर्वाचित भएमा शिक्षा, स्वास्थ्य र रोजगारको क्षेत्रका साथै सिमसार क्षेत्रलाई पर्यटकीयस्थलका रुपमा विकास गराउनका लागी ठोस पहल गर्ने वचनबद्धता प्रकट गरे । उनले विराटनगर देखि किमाथाङका सम्म सडक निर्माणका साथै आफ्नो क्षेत्रका सडकको निर्माण लगायतका विकास कार्यमा बढी केन्द्रित हुने जानकारी गराए ।
सोही क्षेत्र अन्तर्गत प्रदेश ‘ख’बाट वाम गठबन्धन उम्मेदवार रमेश पोखरेलले आफू सहकारीसँग जोडिएको उल्लेख गर्दै सहकारी, निजी र सार्वजनिक क्षेत्रको सहकार्य गराउन र सहकारी क्षेत्रलाई उच्च प्राथमिकतामा राखी ठोस रुपमा अगाडि बढाउने उल्लेख गरे । विकासवादी नेताको रुपमा पहिचान बनाउन खोजेको स्पष्ट पार्दै उनले विराटनगरको रिङरोडको निर्माण, केशलिया नदी नियन्त्रणका साथै सुकुम्बासी, गरिबी लगायतका समस्या समाधानका लागि कार्य गर्ने बताए ।
रासस





























प्रतिक्रिया