केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २१ कात्तिक ।
दश वर्ष अगाडि खाडी मुलुक कुवेतमा एकजना नेपाली युवतीसित जोडिएर भएको एउटा घटनाले उब्जाएको तरंग अझै पूर्ण मत्थर हुनसकेको छैन । गोर्खा माइती र सिन्धुपाल्चोक घर भएकी एउटी युवती डोल्मा शेर्पाले कुवेतमा ‘एकजना फिलिपिनो युवतीको हत्या गरेको’ विषय राष्ट्रिय हुँदै अन्र्तराष्ट्रिय खबरमाध्यमहरूमा छाइसकेको थियो ।
कुवेतमा नेपाली दूतावास थिएन । यसले गर्दा डोल्मामाथि त्यसरी आरोप लागेको एक वर्षपछि मात्रै उनको स्थितिका बारेमा यथार्थ जानकारी बाहिर आउन सक्यो ।
डोल्माबारेका अरू खबर थाहा पाउनुअघि डोल्माको जीवनरक्षामा सहयोगी र अभिभावक बनेर आएको गैर आवासीय नेपाली संघ (एनआरएन) अहिले ‘रक्षक नै भक्षक’ झैं देखिएको छ । डोल्माको नाम बेचेर संसारभरका सहृदयी नेपालीबाट उठाएको रकम तोकिएको प्रयोजन पूरा भएपछि डोल्मालाई फिर्ता दिनुपर्नेमा एनआरएन स्वयमले आफ्ना खातामा राख्ने भएको छ । 
आइतबार मात्रै एनआरएनले जारी गरेको विज्ञप्ति जति लाजमर्दो छ, उति नै विडम्बनायुक्त पनि । के कति कारण, कुन नियम वा दफाअनुसार एनआरएनले डोल्मा शेर्पाका नाममा उठाएको पैसा आफूसँग राख्न सक्छ र ? यो अन्यायपूर्ण निर्णय कहाँ गएर र कहिले सच्चिएला र ?
सुरुमा मृत्युदण्ड र त्यसपछि आजीवन कारावास सजाय तोकिएकी डोल्मा झण्डै एक दशक लामो जेल सजाय बिताएर चार महिनाअघि नेपाल फिरिसकेकी छिन् । ‘डोल्मा शेर्पा बचाउ अभियान’ भनेर अन्र्तराष्ट्रिय तहमा सुरु भएको अभियानमा ५० लाख रुपैंयाभन्दा बढी रकम डोल्माका नाममा उठेपछि उनको ज्यान पनि जोगियो, महिला कामदारको हक–अधिकार र आवाज बनेर डोल्माको नाम ‘मोडेल’ झैं बन्यो । मिडियामा आएअनुसार, डोल्माका श्रीमान तेन्जिङ यतिखेर इराकमा छन् भने एउटा छोरा ८ कक्षामा काठमाडौंकै एक स्कुलमा एकजना दाताको सहयोगमा बोर्डर्स भएर पढ्दैछन् ।
सन् २००७ को जुन २० देखि जेलमा रहेकी डोल्मालाई कुवेतको उच्च अदालतले २००८ को डिसेम्बर २३ मा आफ्नै फिलिपिनो सहकर्मी हत्या गरेको पुष्टीसहित मृत्युदण्डको सजाय सुनाएको थियो । घटना थाहा पाउनासाथै नेपाल सरकारले गरेको आग्रह र अन्र्तराष्ट्रिय रूपमा चलेको ‘डोल्मा बचाउ अभियान’का कारण डोल्माको मृत्युदण्ड १० बर्से जेल सजायमा रूपान्तरण भएको थियो । कुवेतको कानुनअनुसार, हत्या गरिएको परिवारले ‘ब्लड मनी’ (हत्या गरिएबापत रगतको मूल्य) स्वीकार गरेको अवस्थामा डोल्माले पाएको कठोर सजाय मिनाहा भएको थियो । सहमतिअनुसारको १० हजार अमेरिकी डलरको ब्लड–मनी उठाउन नेपाल सरकारले ४ हजार डलर ‘बिउ पैसा’ राखेर बाँकी पैसा अन्र्तराष्ट्रिय तहमा नेपाली समुदायबाट उठाइएको थियो ।
अहिले एकैसाथ दुईवटा प्रश्न उब्जिएका छन्— डोल्माका नाममा उठेको लाखौं रुपैयाँ कहाँ छ ? डोल्मा स्वयम कहाँ छिन् र ?
बौद्धमा डोल्मा
भगवानको नाम लिएरै र कसम खाएरै डोल्मा भनिरहेकी छिन्— मैंले कसैको हत्या गरेकी थिइन । मलाई फँसाइयो ।
तर, १० बर्से जेल सजाय भुक्तान गरेर आइसकेपछि अब यो रोदनको पनि अर्थ छैन । अहिलेको प्रमुख चासो भनेको डोल्माका नाममा उठेको पैसा कहाँ छ ?

आमासित डोल्मा
‘डोल्माले कुवेतको जेलबाट छुट्कारा पाउने भएपछि हामीले पनि उनका नाममा गैर आवासीय नेपाली संघबाट उठेको रकमको खोजबीन गर्यौं,’ गैर आवासीय नेपाली संघ, अन्र्तराष्ट्रिय समितिका कोषाध्यक्ष हिक्मत थापाले नाइजेरियाबाट मिडियासँग भनेका थिए— ‘उनका नाममा उठेको झण्डै ३२ लाख रुपैयाँ अहिले पनि संघको कल्याणकारी शाखामा रहेको छ । यो रकम संघको काठमाडौं केन्द्रीय कार्यालयबाट प्रक्रिया पुर्याएर डोल्माले लिन सक्नेछिन् ।’
तर, यसो भनेको पनि महिनौं भयो । गैर आवासीय नेपाली संघको अर्को चरणको अन्र्तराष्ट्रिय सम्मेलन पनि काठमाडौंमा भैसक्यो ।
यसअघिका अध्यक्ष शेष घलेले डोल्मालाई उनका नाममा उठेको रकम बुझाइने भनेर सार्वजनिक प्रतिबद्धता पनि जनाएका थिए तर पैसा फिर्ता भने भएकै छैन । नयाँ अध्यक्ष भवन भट्ट मानौं यो मामिलामा ‘बेखबर’ झैं छन् ।
यता बौद्धको डेरामा आफन्तजनले दिएको भरथेग र सहयोगका भरमा डोल्मा जीवनगुजारा गरिरहेकी छिन् । कहिले बौद्धनाथ मन्दिरमा आएर पाठपूजा गर्दै र कहिले गुम्बाहरूमा गएर प्रार्थना गर्दै डोल्माको दिनचर्या बितिरहेको छ ।
अरू महिलाहरूका हकमा आवाज उठाउनु पर्यो भने यहाँ थुप्रै गैर सरकारी संस्थाहरु अग्रसर भैहाल्छन् तर डोल्माजस्ता चियोचर्चा नचाहने र एकान्तमा बस्न चाहनेका लागि सहयोग गरिदिने पनि कोही छैन !
‘हत्या अभियोग लागेर एउटा बदनामी कमाएकी थिएँ,’ डोल्माले सुनाइन्—‘‘अहिले मेरा नाममा उठेको पैसा कसले कहाँ लगेको छ ? मेरो नाम मात्रै मुछिएको छ । आफन्तहरूले पनि पैसा कता गयो भनेर सोधिरहेका छन् । कि पैसा छैन भन्नुपर्यो, होइन भने भएको पैसा दिनुपर्यो । म पीडित थिएँ नै, थप पीडित किन बनाइएको हो ?’’

































प्रतिक्रिया