राजनीतिमा डाइपर संस्कृति

राजनीतिमा डाइपर संस्कृति

केन्द्रबिन्दु
0
Shares

व्यङग्य/बिम्मी शर्मा

राजनीतिमा गएर देशको मुहार फेर्छु भन्नेहरु अचेल डाइपर जस्ता भएका छन् । बच्चाले सुसु गरेर एउटाबाट अर्को डाइपर फेरुन्जेल हाम्रो देशका महान नेताहरु एउटा राजनीतिक पार्टी छाडेर अर्कोमा हाम फालेर गैसक्छन् ।

डाइपर भिज्या पनि हुंदैन नेताहरुलाई सकसक भैसक्छ अर्को डाइपर फेर्ने । हुन त यी नेताहरु डाइपर लगाउँदैनन् तर आनिबानी भन्ने ठयाक्क बच्चाको जस्तै चञ्चल छ । एकठाउँमा टिकेर बस्नै नसक्ने । केही काम गर्न नपाए पार्टी बदलेर भए पनि मीडियामा छाइरहनु पर्ने यिनको अघोषित रणनीतिले गर्दा पनि यी नेताहरु बच्चाको डाइपर बदल्या झैं पार्टी बदलिरहन्छन् ।

डाइपर भन्ने बित्तिकै बच्चाले लगाउने थाङनो वा नैपकिन भन्ने धेरैले बुझ्छन् । तर घरमा बनाएको पुराना कपडाको थाङना वा नैपकिनलाई कपडा र कपासबाट बनेको रेडिमेड डाइपरले लिसक्यो । बच्चामात्रै हैन यो डाइपर अपांग, रोगी, असक्त वृद्धवृद्धाहरुले पनि लगाउँछन् । जसलाई चुहिने समस्या छ त्यसकालागि डाइपर नभइ नहुने वस्तु हो । त्यही भएर राजनीति ठोस आकार लिन नसकेका संधै चुहिरहने स्वभावका नेताहरु जो बच्चा पनि हैन तर त्यति सार्हो वृद्ध पनि भैसकेका छैनन् तिनले राजनीतिमा ‘डाइपर कल्चर’ लाई भित्राएका छन् । यसको ताजा उदाहरण उद्योगपति विनोद चौधरी र वीरगञ्जका पूर्व मेयर बिमलप्रसाद श्रीवास्तव हुन् । जो संधै वीरगञ्जमा आफु मात्रै मेयर हुनु पर्ने सपना हेर्छन् । तर त्यो सपना सोम शर्माको सातु जस्तै भएर हाँडी फुटेपछि तुरुन्तै अर्को राजनीतिक पार्टी र सिद्धान्त बद्लिन्छन् अर्थात डाइपर बद्लेर हलुगोँ भएको सास फेर्छन् ।

भर्खरै चाउचाउपति विनोद चौधरीले एमाले ब्राण्डको आफ्नो डाइपर पुरानो भएर गन्हायो भन्दै त्यसलाई बदलेर अत्यन्त महँगो दाममा नेपाली काग्रेंसको डाइपर लगाएका छन् । यो डाइपर किन्न चौधरीले ५० करोड रुपैंया खर्च गर्नु पर्यो । तर पनि चौधरी खुशी र ढुक्क छन् देशका जनतालाई चाउचाउ खुवाएर आन्द्रा बटारिदिए वापत उनले कमाएको धनमा लाग्ने कर रुख हल्लाएर घटाइदिने छन् । देशमा धान उब्जिने भन्दा बढी चाउचाउ उत्पादन हुन थालिसक्यो । कुनै दिन माम हामको ठाउँमा चाउचाउ खाउखाउ भन्ने विज्ञापन नबज्ला भन्न सकिन्न ।

डाइपर जस्तो दल बद्लिनमा माहिर अर्काे ‘बच्चा’ वीरगञ्जका पूर्व नगरपिता बिमल श्रीवास्तव माहिर खेलाडी हुन् । दल बद्लिने डाइपर कलामा त वीरगञ्जका श्रीवास्तवले त यसमा संसारमै सबैलाई उछिन्छन् होला ? भर्खरै सम्पन्न स्थानीय तहको तेश्रो चरणको चुनावमा वीरगञ्जमा मेयरको उम्मेदवार बनेका श्रीवास्तवले यही दौरानमा तीनपल्ट डाइपर बदलेका छन् । पहिलो डाइपर उनले त्यो बेलाबद्ले जब राजपाले उनलाई मेयरको टिकट नदिएर राजेशमानलाई दियो । त्यसपछि बच्चाको सुसु चुहिए जस्तै उनको रिष चुहियो र भोलिपल्टै बिजय गच्छेदारको फोरम लोकतान्त्रिकमा प्रवेश गरेर मेयरको टिकट पाएर वीरगञ्जवासीलाई एउटा बुढो बच्चाको अनुहार हेर्ने मौका दिए । जब चुनावको परिणामले उनलाई डायरिया गराइदियो त्यसपछि श्रीवास्तवले तुरुन्तै विजय गच्छेदारले लगाइदिएको डाइपर फेरेर फोरम लोकतान्त्रिकको डाइपर लगाएर निश्चिन्त भएर बसेकाछन् । त्यसो त यो भन्दा पैले श्रीवास्तवले पछिल्लो संविधान सभा चुनावमा राप्रपाको फोहोर डाइपर निकालेर तमलोपाको डाइपर लगाएका थिए । अब त तमलोपा आफै कमोडमा फ्लश भएर गैसक्यो । बिचरा श्रीवास्तव कुन दिन डाइपर सहित आफै संधैकालागि फ्लश नहोलान् भन्न सकिन्न ।

नेपालमा डायपर राजनीतिको ब्राण्ड एम्बेस्डर हुन् श्रीवास्तव । उनले जति विभिन्न पार्टीको डाइपर फेर्ने काम एउटा बच्चाले पनि गर्दैन होला । हाम्रो देशमा डाइपर राजनीति झाँगिदै गइरहेको छ । कमबेश हरेक दलबाट असन्तुष्ट नेता तथा कार्यकर्ताहरु नीति र सिद्धान्तलाई तिलाञ्जली दिदैं अर्को पार्टीमा हाम फालेर गइरहेका छन् । एउटा भेडा खाल्डोमा खस्दा त्यसलाई बचाउने र उकास्ने भन्दा उल्टै थप भेडाहरु खाल्डोमा खस्न जाँदैछन् । देशमा जब चुनाव बाह्मासे व्यापार बन्दछ तब त्यो व्यापारमा आफ्नो उम्मेदवारीको पसल थापेर टन्न पैसा कमाउन मन्त्री, सांसद र विधायक बन्न वा जित्नका लागि टिकट आवश्यक छ । तर त्यही टिकट नपाएपछि असन्तुष्ट र क्रुद्ध नेता र कार्यकता आफ्नो चुहिएको आँखा र छानालाई जोगाउन डाइपर लगाउन वा बद्लिन वाध्य हुन्छन् ।

आखिर बिचरा कति चिसिएर बसुन भिजेको मुसा वा बिरालाे जस्तो भएर । अझ यो डाइपरको आवश्यकता अझ बढी महसुस गरियो जब भरतपुरको मतगणना भैरहँदा बिचैमा मतगणकलाई पिसाबले च्यापेर बाथरुम गएको बेला मतपत्र च्यातिएको थियो । त्योबेला मतपत्र च्यात्ने र विरोध गर्नेहरु अहिले यही डाइपर राजनीतिको प्रभावले एउटै दलमा गाँसिएर भएकाछन् । अब यिनीहरुको बेला न कुबेला चुहिने थुतुनो यही डाइपर राजनीतिले थुनिदिएको छ । अब सबै वाम, दाम, हाम गर्दै एउटा छातामूनि आएर डाइपर जस्तै सफा र सुकिलो भएका छन् । त्यसैले अब हुने निर्वाचनमा डाइपरलाई पनि चुनाव चिन्हको रुपमा दर्ता गराएर डाइपर नीति अपनाउँदै डाइपर संस्कृतिलाई फल्ने, फुल्ने मौका दिइनु पर्दछ । जय होस् डाइपर राजनीति को !

Skip This
Skip This
Logo