काठमाडौं , २०, कात्तिक
एमालेका केही बागी उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतमको क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिएका असन्तुष्टहरूले आइतबार उम्मेदवारी फिर्ता लिएका हुन् । नेता नेपालको निर्वाचन क्षेत्र काठमाडौं २ का बागी उम्मेदवार एलपी श्रेष्ठले उम्मेदवारी फिर्ता लिएका छन् । एमाले काठमाडौं जिल्ला सदस्य रहेका श्रेष्ठले उम्मेदवारी फिर्ता लिएपछि पार्टी निर्णयको पालना गर्दै वरिष्ठ नेता नेपाललाई जिताउन लाग्ने प्रतिबद्धता जनाएका छन् ।
त्यस्तै उपाध्यक्ष गौतमको निर्वाचन क्षेत्र बर्दिया १ अन्तर्गत प्रदेश सभामा आधिकारिक उम्मेदवार कविराम थारू विरुद्ध उम्मेदवारी दिएका खड्गबहादुर खड्काले पनि फिर्ता लिएको गौतमका स्वकीय सचिव दीपक टमटाले जानकारी दिए । उदयपुर २ मा उम्मेदवारी दिएका पोलिटब्युरो सदस्य जगन्नाथ खतिवडाले पनि उम्मेदवारी फिर्ता लिएका छन् । वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका सुदन राई किराती आधिकारिक उम्मेदवार भएको दुवै पार्टीको शीर्ष नेतृत्वले स्पष्ट पारेको भन्दै उनले पार्टी निर्णय र निर्देशन पालना गर्दै फिर्ता लिएको जनाएका छन् । खतिवडाले अध्यक्ष केपी ओलीले हस्ताक्षर गरेको मनोनयनपत्र सहित उम्मेदवारी दर्ता गराएका थिए । त्यस्तै पार्टीले प्रत्यक्ष र समानुपातिक दुवैमा टिकट नदिएको प्रति असन्तुष्टि जनाउँदै दाङ ३ मा स्वतन्त्र उम्मेदवारी दिएकी कलाकार कोमल वलीले पनि आइतबारै उम्मेदवारी फिर्ता लिएकी छिन् । शनिबार केन्द्रीय अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहराले विज्ञप्ति जारी गरी बागी उम्मेदवारी तत्काल फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिएका थिए ।
नयाँपत्रिकाबाट































प्रतिक्रिया