माओवादी केन्द्रद्वारा ढुंगेलको रिहाइ माग

माओवादी केन्द्रद्वारा ढुंगेलको रिहाइ माग

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, १४ कात्तिक ।

नेकपा (माओवादी केन्द्र) ले पूर्वसांसद बालकृष्ण ढुंगेलको पक्राउ शान्ति सम्झौताविरुद्ध रहेको जनाउँदै तत्काल उनको रिहाइको माग गरेको छ ।

माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले पत्रकारसँग कुराकानी गर्दै “द्वन्द्वकालीन मुद्दा सत्य तथा मेलमिलाप आयोगबाटै समाधान गरिने शान्ति सम्झौताको मर्मविपरीत बालकृष्ण ढुंगेललाई पक्रिनु निन्दनीय छ । उहाँको तत्काल रिहा गरिनुपर्छ” भन्ने जिकिर गरिन् ।

ढुंगेलविरुद्ध लगाइएको मुद्दा सत्य तथा मेलमिलाप आयोगले नै हेर्नुपर्ने उनको भनाइ छ ।

निर्वाचनका समयमा आएर ढुंगेललाई पक्रनु निर्वाचन नगर्ने षड्यन्त्र हुनसक्ने आशंका गर्दै नेत्री भुसालले शान्तिपूर्ण निर्वाचन कुनै पनि बहानामा बिथोलिन नहुने बताइन् ।

नेपाल प्रहरीको सिआइबीले ढुंगेललाई ललितपुर, सातदोबाटोस्थित उनको डेराबाट आज पक्राउ गरेको थियो । उनलाई आजै काठमाडौं जिल्ला अदालतमा उपस्थित गराई डिल्लीबजार सदरखोर चलान गरिसकिएको छ ।

ढुंगेल पहिलो संविधानसभामा ओखलढुङ्गा–२ बाट निर्वाचित संसद् थिए । उनलाई ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्यामा सर्वोच्च अदालतले २०६६ पुस १९ गते दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

Skip This
Skip This
Logo