इनरुवा, १० कात्तिक। सुनसरी सदरमुकाम इनरुवा– २ का एक सर्वसाधारण लक्ष्मी मेहताले सम्भवतः जिल्लाकै सबैभन्दा ठूलो छठ पूजा सम्पन्न गरेका छन् ।
मेहताले जिल्लामा सबैभन्दा बढी प्रसाद सामग्रीसहित छठ पर्व सम्पन्न गरेका हुन् । मेहताले १२१ घरी केरा, पित्तलको आरीलाई ढाकीका रुपमा र कोनियासमेत पित्तलकै चढाएको मेहता परिवारले जनाएको छ ।
मेहताले सबैभन्दा बढी फलफूल र अन्य सामग्री चढाएकाले तीन ट्र्याक्टरमा सामग्री छठ मनाउने घाट अर्थात् इनरुवा–२ मा रहेको शंकरपुर शाखा नहरको घाटमा लगिएको थियो ।
मेहताले आफ्नो परिवारमा छोरा बोल्न नसक्ने अवस्थाको भएको र छठ गर्ने भाकल गरेपछि छोरा बोल्नसक्ने भएको र धन सम्पत्तिसमेत छोटो समयमा धेरै आर्जन भएको भन्दै पूजापाठ गर्न थालेको बताए । मेहता आफ्नो पूजा सामग्रीसँगै बाजागाजासहित छठ मनाउनुभएको छ ।
यसैबीच, सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाको विभिन्न ठाउँमा उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गरी छठ पर्व सम्पन्न गरिएको छ । इनरुवाको सुनसरी खोला, कोसी व्यारेज, लौकही, कोसी कटान, शंकरपुर शाखा नहर, बलहा नहरलगायतका स्थानमा दुलहीझँै सिँगारिएको घाटमा भक्तजनले कोनी, ढाकीलगायतका भाँडामा प्रसादका रुपमा लगेको, केरा, स्याउ, नरिवल, ठकुवा, उखुलगायतका प्रसाद सामग्री लिएर उदाउँदै गरेको सूर्यलाई अघ्र्य अर्पण गरेर छठ पर्व सम्पन्न गरेको हो ।
जिल्लामा छठ पर्वमा कुनै पनि अप्रिय घटना हुन नदिनका लागि सुरक्षा सतर्कता समेत बढाइएको थियो भने छैठ मनाउने स्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीसमेत परिचालन गरेको थियो । छठ घाटमा सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुली, प्रहरी प्रमुख विद्यानन्द माझी, इनरुवा नगरपालिकाका प्रमुख राजन मेहतालगायतका अधिकारीले समेत निरीक्षण र अवलोकन गरेका थिए । रासस





























प्रतिक्रिया