गत असोज २३ गते सोमबार राजधानीको नयाँ बानेश्वरमा दिनदहाडै नृशंस हत्या गरियो, नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको । मोटरसाइकलमा आएका दुईजना अज्ञात व्यक्तिले गौचन सवार प्राडो गाडीमा प्वाइन्ट ब्ल्याङ्कबाट गोली प्रहार गरेका थिए– कञ्चटमा, कोखामा र छातीमा । अस्पताल लग्दै गर्दा डाँफे कन्स्ट्रक्सनका सञ्चालक समेत रहेका गौचनको बाटामै मृत्यु भइसकेको नजिकैको सिभिल अस्पतालले जनाएको थियो ।
उता, गोली प्रहार गरेलगत्तै आक्रमणकारीहरू अदृश्य हुनपुगे । हत्यारा को हो थाहा हुन सकेन । दिनदहाडै राजधानीको मुटुमा हाइप्रोफाइल ब्यक्तिमाथि गाली प्रहार हुँदा सरकार समेत अवाक भयो । यस्तैमा मनोज पुन भन्ने व्यक्तिको समूहमा आबद्ध भनिएको एक ब्यक्तिले गौचनको हत्या आफ्नो समूहले गरेको दावी गर्दै फोनमार्फत प्रहरीलाई जानकारी गरायो । पुन समूहका ‘लोप्साङ’ भन्ने व्यक्तिले फोन गरेर जिम्मेवारी लिएको भन्ने खबर प्रहरी मार्फत सार्वजनिक भयो ।
राजधानीमा भएका अधिकांश सुटआउटका घटना फेक करेन्सी र विदेशी अन्डरवल्ड डनसित कनेक्ट हुने तर गौचन हत्या प्रकरण भने फरक भएको अनुसन्धानमा संलग्न प्रहरीहरुको प्रारम्भिक भनाइरहेको छ । उनी निर्माण व्यवसायी भएकोले लेनदेन लगायतका घटना कारक हुन सक्ने प्रहरीहरुको अड्कल छ । हाइप्रोफाइल भएका गौचनलाई गोली हानी हत्या गर्ने योजना मनोज पुन समुहले बिदेशमा नै बसेर बनाएको हुन सक्ने अनुसन्धानवाट खुल्न थालेको छ ।
यिनै पुनद्वारा परिचालित समुहका ब्यक्तिले गत बर्ष पुष पहिलो सातामा एमालेसम्वद्ध भातृ संगठन युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या गरेका थिए । तिवारीको हत्या पश्चात पुनले विदेशी नम्बरबाट देवदहको एक स्थानीय व्यक्तिलाई फोन सम्पर्क गरेर तिवारी हत्या आफुले गराएको जानकारी दिएका थिए । संयोगले फोन आएको समयमा उक्त व्यक्ति इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी मुकुन्द मरासिनीसँगै भएको हुनाले फोनमा भएको संवाद डीएसपी मरासिनीले पनि सुने । फोन इन्टरनेटको प्रयोग गरी गरिएको हुनाले नम्बर हाल सम्म पनि पत्ता नलागेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
यसरी युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या , प्रहरीको खोजी सूचीमा रहेका काभ्रेका दावा लामा माथि गोली प्रहारको प्रयास र निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलाई गोली हानी हत्या गर्ने जस्ता दर्जन भन्दा बढि जधन्य अपराधको श्रृंखलालाई निरन्तरता दिने ब्यक्ति मनोज पुन आखिरमा को हुन् ? यिनले कहिले देखि सुरु गरे अपराधको श्रृंखला ।
३० बर्षिय मनोज पुन रुपन्देही जिल्लाको देवदह नगरपालिका–६ निवासी हुन् । उनको वास्तविक नाम मनोज बुढामगर हो । उनी कुनै बेला नेकपा एमालेको ‘युथ फोर्स’ गठन भएको केही समयपछि युथ फोर्स रुपन्देही क्षेत्र नम्बर–१ का कोषाध्यक्ष थिए । संगठनमा रहँदा पनि उनले गुण्डागर्दी गर्ने, फिरौती माग्ने तथा धम्काउने जस्ता कामलाई निरन्तरता दिँदै आएको बताइन्छ । उनी साना साना अपराध गर्दा गर्दै देवदह क्षेत्रमा ठेक्कापट्टाको काममा समेत संलग्न हुन थालेका थिए । उनी फिरौती माग्ने, गुण्डागर्दी गर्ने जस्ता गतिविधिका साथै गैरकानुनी काम गरेको अरोपमा युथ फोर्सको साधारण सदस्य समेत नरहने गरी कारवाहीमा परेका थिए । पुनले पार्टीबाट अलग भएपछि पूर्णकालीन आपराधिक क्रियाकलाप सुरु गरेको प्रहरी बताउँछ ।
कहिले देखि सुरु गरे अपराधको श्रृंखला ?

पुन नेकपा एमालेको युथ फोर्स रुपन्देही क्षेत्र नम्बर–१ का कोषाध्यक्ष हुनु भन्दा आगाडी देखि नै विभिन्न साना तिना अपराध चोरी, धम्काउने जस्ता कार्य गर्दै आईरहेको थिए । जब उनी फोर्सको उपाध्यक्ष भए त्यसपछि उनको अपराधिक गतिविधीले फड्को मार्न थल्यो । तर उनी साना तिना अपराध गर्दै जाने क्रममा २०७२ साल फागुन महिनामा इलाका प्रहरी कार्यालय बुटवलमा उनी विरुद्ध सार्वजानिक अपराध, ज्यान मार्ने उद्योग लगायतको मुद्दा दर्ता भयो । त्यहाँ देखि उनी प्रहरीको आँखामा आए । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मनोज पुन प्रहरीको मोष्ट वान्टेडको सुचीमा रहेका छन् । उनी विरुद्ध २०७२ साल फागुन देखि ०७३ असार सम्म संगठित अपराध, लागुऔषध, हातहतियार खरखाजना र ज्यान मार्ने उद्योग गरी ४ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक श्यामलाल ज्ञावलीले बताए । उनी विरुद्ध ४ वटा मुद्धा दर्ता हुञ्जेल पनि पक्रउ परेका थिएन् ।
उनको अपराधको श्रृंखला यतिमा मात्र सिमित नभएर उनी २०७३ साल पुष ४ गते पुनः युवा संघ रुपन्देहीका तत्कालीन अध्यक्ष दुर्गा तिवारी हत्याको मुख्य योजनाकारको रुपमा बहिर आए । हत्याको झण्डै डेढ महिनापछि प्रहरीले फागुन १५ गते आइतबार पत्रकार सम्मेलन गरेर मुख्य योजनकार मनोज पुन नै भएको बताएको थियो । पार्टीबाट निष्काशन गर्न तिवारीको भूमिका रहेको ठानेर पुनले तिवारीसँग रिस इबी साँधेको कारण तिवारीको हत्या भएको अनुसन्धानले देखाएको तत्कालनि एसपी रविन्द्र धानुकले पत्रकार सम्मेलनमा वताएका थिए । ‘उनीहरूका बीचमा पहिले राम्रो सम्बन्ध थियो, पछि पार्टीबाट निकालिएपछि पुनले तिवारीविरुद्ध गतिविधि गर्न थाले,’ प्रहरी स्रोतले बतायो । ‘पार्टीबाट निकालिएपछि उनी संरक्षणविहीन जस्तै भएका थिए’, प्रहरी स्रोत भन्छ ।
संगठनबाट बाहिरिएपछि उनले पहिलो निशाना तिवारीलाई नै बनाए । २०७२ फागुनमा दुर्गामाथि गोली प्रहार भएको थियो तर त्यसबेला उनी बच्न सफल भएका थिए । वि.सं. २०७३ साल पुसमा पुनः भएको गोली प्रहारबाट भने तिवारीको मृत्यु नै भएको थियो । प्रहरीले फागुन १५ गते आइतबारको पत्रकार सम्मेलनमा तिवारी हत्याको अभियोगमा ७ जना पक्राउ गरेको तथा पुन सहित ५ जना फरार रहेको जानकारी तत्कालीन एसपी धानुकले सार्वजनिक गरेका थिए ।
पुनले अर्को नयाँ अपराधको घटनालाई २०७४ साउन महिनामा निरन्तरता दिए । पुनद्वारा परिचालित यवाहरुले रुपन्देहीको मणिग्राममा व्यवसायी दुर्गालाल भण्डारीलाई लक्षित गरी गोली प्रहार गरेका थिए । तर भण्डारी बच्न सफल भए । यी विभिन्न घटना लगत्तै पुनले विदेशबाट विभिन्न व्यक्तिलाई फोन गरेर घट्ना आफूले गराएको बताएका थिए । पुनले अपराध शृंखलाको लागि परिचालन गरेकामध्ये अहिलेसम्म १८ जनालाई प्रहरीले गौचनको हत्या हुनुअघि नै पक्राउ गरेको थियो ।
पुनका अरू पनि सहयोगीहरू निरन्तर अपराध शृंखलामा सक्रिय भएकाले प्रहरीले उनीहरूलाई टारगेटमा राखेको छ ।
गिरोहमा आबद्ध धेरैलाई पक्राउ गरेको प्रहरीले दाबी गरेपनि गिरोहका नाइके पुनलाई पक्राउ गर्न प्रहरीले सकेको छैन । उनी भारतका विभिन्न ठाउँ र मलेसियासम्म पुग्ने गरेको प्रमाण चाहिं प्रहरीले फेला पारेको छ ।
पुन समूहमा मनोज पुन मगर, लोप्साङ भोटे, समिरमानसिंह बस्नेत र श्याम घले रहेको प्रहरीले बताएको छ । उक्त समूहलाई नेपालमै बसेर आपराधिक गतिविधि बढाउन असहज भएपछि प्रहरीको आँखा छलेर पछिल्लो करिब एक वर्षदेखि भारतको गोवा, मुम्बई, लखनउ र सीमाक्षेत्र लगायत तेस्रो मुलुकमा बस्दै आएको प्रहरीले जनाएको छ ।
पुन समूहले व्यवसायी गौचनसँग करोडौँ पैसा मागेको र नदिएपछि हत्या गरिएको प्रहरीले प्रारम्भिक आशंका गरेको छ । प्रहरीले गौचन हत्याको करिब २५ देखि ३० मिनेटपछि राजधानीको मनमैजुबाट एक थान हतियार र तीन राउन्ड गोलीसहित काभ्रेको रोशी गाँउपालिका ४ का छिरिङ तामाङ, सञ्जय तामाङ र दिलीप लामालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइरहेको छ ।





























प्रतिक्रिया