केन्द्रबिन्दु डेस्क । काठमाडौं, २५ असोज ।
भारतको औरंगबादस्थित मुकुन्दवाडी गाउँमा एकजना युवकले आफ्नै शरीरमा पेट्रोल छर्किए र आगो लगाए । दनदनी आगो बल्न थाल्यो, उनको शरीरमा । उनी छटपटाएर यताउता गर्न थाले । २० मिनेटसम्म उनी त्यसरी नै छटपटाए । तर, कसैले उनलाई बचाउन गएनन् । बरु, उनको भिडियो बनाउनतिर लागे । मोबाइल झिकेर भिडियो मोडमा राख्दै रमितेहरू उनलाई पच्छ्याउन थाले ।
केही युवाले गम्भीर रूपले घाइते भएका उनलाई स्थानीय अस्पतालमा लगे । यतिबेलासम्म उनी निकै जटिल अवस्थामा पुगिसकेका थिए ।
पुणेमा बस्ने उनी आफन्त भाइका साथ त्यहाँ पुगेका थिए । उसको नाम रहेछ, बालाराम बुचटे । उमेर २५ वर्ष । उनी केही समययता मानसिक समस्याले ग्रस्त थिए । सोमबार भाइ आफ्नी पत्नीसँग काममा गए । त्यही क्रममा बालाराम एक्लो थिए ।
स्थानीय समय अनुसार साढे बाह्र बजे उनले पेट्रोल छर्किएर आगो लगाए । जब आगोले पोल्न थाल्यो, उनी चिच्याउन थाले । उनको आवाज सुनेर छिमेकीले ढोका खोलेर बाहिर निकाले । नराम्ररी जलेका बालारामलाई अस्पताल लानुको साटो सडकमा छाडियो । त्यसपछि उनी सडकमा २० मिनेटजति तड्पिरहे । रमितेहरुले उसलाई सहयोग गर्नुको साटो फोटो खिँच्न थाले ।
केही समयपछि युवा सेनाका कार्यकर्ताले सो खबर पाए र एम्बुलेन्समा बालारामलाई अस्पताल पुर्याए ।
(एजेन्सीको सहयोगमा)































प्रतिक्रिया