एसके बैश्य
काठमाण्डौ, २३ असोज । नेपालगञ्जमा एक बर्ष देखि रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बितरण कार्य आज देखि शुरु भएको छ । गत वर्ष असार १८ गते यातायात ब्यवस्था कार्यालय नेपालगन्जमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि वितरण कार्य रोकिएको थियो ।
ठुला सवारी साधन र इ–रिक्साको लागी आज बाट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बितरण प्रक्रिया शुरु भएको कार्यालयले जनाएको छ ।
सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नयाँ तथा थप गर्न टेम्पो, अटोरिक्सा, ई—रिक्सा, मिनी बस, मिनी ट्रक, बस, ट्रक, लहरी र मेसनरी सवारी साधन तर्फ आवेदन शुरु भएको यातायात ब्यवस्था कार्यालयले जनाएको छ । मेसनरी सवारी साधन, मिनी बस, मिनी ट्रक, बस, ट्रक, लहरीको हकमा एक चोटीमा कुनै एउटै वर्गमा आवेदन दिन पाउने ब्यवस्था गरिएको कार्यालयले जनाएको छ ।
यातायात व्यवस्था कार्यालय भेरीका १६ कर्मचारीविरुद्ध ड्राईभिङ लाइसेन्स परीक्षामा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि लाइसेन्स वितरण कार्य रोकिएको थियो । गत वर्ष कार्तिक महिनामा चारपाङ्ग्रे सवारी लाईसेन्सको लिखित परिक्षाको नजिता प्रकाशनमा अनियमितता भएको ठहर गर्दै अख्तियारले मुद्दा दायर गरेको थियो । सो परीक्षामा कुल १२ हजार ६ सय ३१ जना परीक्षार्थी सहभागी भएका र लिखित परीक्षामा ९ हजार ४ सय ९ जना उत्तिर्ण गराई नतिजा प्रकाशन भएको थियो ।
परीक्षामा जम्मा ४६५ जना परीक्षार्थीहरू प्रयोगात्मक परीक्षामा उत्तिर्ण भएका थिए तर परिक्षा समितिको बैठकले ती फेल भएका परीक्षार्थीहरूको नाममा सवारी चालक अनुमतिपत्र जारी गर्ने निर्णय गरेको थियो । उक्त अनियमिततामा सहभागी भएका १६ कर्मचारीले भ्रष्टाचार निवारण ऐन बमोजिम कसूर गरेको पुष्टि भएको बताउँदै अख्तियारले मुद्दा दायर गरेको थियो ।
अदालतले सवारी चालक अनुमतिपत्रमा करौडौको रकम भ्रष्टाचार गरेको ठहर गर्दै तत्कालिन यातायात ब्यवस्था कार्यालय भेरीका १४ जना कर्मचारी र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेमा कार्यरत तत्कालिन प्रहरी निरिक्षक सहित २ जना प्रहरी निलम्बनमा परेका थिए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका तत्कालीन प्रहरी निरीक्षक बिमलकुमार उपाध्यय र प्रहरी नायब निरीक्षक दिपेन्द्रबहादुर सिंहले अनियमितता गरेकको अदालत ठहर भए पछि पदबाट बर्खास्त भएका छन् ।
त्यसैगरि यातायात ब्यवस्था कार्यालय भेरीका तत्कालिन प्रमुख तथा उपसचिब पवन सुबेदी शाखा अधिकृतहरु सिताराम खनाल, बिष्णु सहनी, देबराज पोख्रेल, मेकानिकल ईन्जिनियर अर्जुनकुमार चौधरी, धु्रबप्रसाद सापकोटा, नायव सुब्बा ललितबहादुर ओली, केशब डाँगी, होताराज पौडेल, षडानन्द उपाध्याय, अरुणकुमार गौतम, डिल्लीराज खरेल, ओमबहादुर बस्नेत र गणेशमान आचार्य पनि पदबाट बर्खास्त भएका हुन् । सो समय देखि सवारी चालक अनुमतिपत्र (लाईसेन्स) बितरणको काम रोक्का रहेको थियो ।































प्रतिक्रिया