कञ्चनपुर, २३ असोज
डियुटीमा रहेका चिकित्सक माथि बिरामीका आफन्त हातपातमा उत्रिएपछि आइतबार बिहान देखि कञ्चनपुरको भीमदत्तनगर स्थित महाकाली अञ्चल अस्पतालको सेवा प्रभावित बनेको छ । शनिबार राति अस्पतालमा सुत्केरी वार्डमा महिलाले बच्चा जन्माउने क्रममा मृत अवस्थामा बच्चा जन्मिएको विषयलाई लिएर सुत्केरी महिलाका आफन्तले अस्पतालका चिकित्सक, नर्स र अस्पतालको सुरक्षामा खटिएका प्रहरी माथि हातपात गरेका थिए ।
आफन्तले अस्पतालका डा. सत्यप्रकाश कोइराला माथि हातपात गरेको महाकाली अञ्चल अस्पताल विकास समितिका अध्यक्ष अशोक पाण्डेयले बताए । चिकित्सक र स्वास्थ्यकर्मीले घटनाको विरोधमा आइतबार बिहानदेखि आकस्मिक सेवा बाहेकका अन्य सेवा ठप्प पारेका छन् । उक्त क्रममा अस्पतालमा खटिएका एक प्रहरी जवानको टाउकामा गम्भीर चोट लागेको छ । अस्पतालका चिकित्सक महिलाले बच्चा जन्माउने क्रममा मृत अवस्थामै जन्मिएको दाबी गर्छन् । तर महिलाका आफन्तले भने सुत्केरीको वार्डमा रहेको नर्सको लापर्बाहीले बच्चाको मृत्यु भएको आरोप लगाएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले चिकित्सक माथि आक्रमणमा संलग्न भएकाले बिरामीका पाँच जना आफन्तलाई नियन्त्रणमा लिएको बताउए।
रासस





























प्रतिक्रिया